शिक्षा मन्त्री महावीर पुनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हावा कुरा गरेर जनता नझुक्याउन आग्रह गरेका छन् । प्रसाईंले छ लाख जनतालाई कालोसूचीबाट हटाउन माग गरेसँगै पैसा छापाखानामा किताब छापेजस्तै छाप्न मिल्दैन भन्दै मन्त्री पुनले यस्ता हावा कुरा गरेर जनतालाई नझुक्याउन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्-
कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले – शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरुलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन सकेको छैन ।
छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरुलाई खाली हात फर्काउन परेको छ। शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कूलहरुलाई शिक्षक पठाउने जगेडा बजेट नै छैन ।
६ लाख जनतालाई कालोसूचीबाट हटाउने, सेना प्रहरीको तलब महिनाको १ लाख बनाउने र २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरि दिने रहेछन् दुर्गा भाईले ?
त्यसो गर्दा जनताले बैंकमा जम्मा गरेको जनताकै पैसा डुबिहाल्छ नि । धनको देवता कुवेर नै त होइनन नि यिनी भाइ । अनि छापाखानामा किताब छापे जस्तै पैसा छाप्न पाइँदैन भन्ने कुरा सबैलाई थाहा छ होला नि ।
यस्ता हावा कुरा गरेर जनता झुक्याउनु हुन्न दुर्गा भाइ । यो भन्दा पहिले रेल ल्याउने, पानी जहाज ल्याउने, १२ वर्षमा नेपाललाई दक्षिण एसियाको एकदमै धनी देश बनाउने र नेपाललाई सिंगापुर बनाउने भन्ने जस्ता हावा कुरा धेरैले गरेका थिए ।
यस्तो हावादारी कुरा गऱ्यो भने हाँसोको पात्र भइन्छ। कुरा बुझेर तथ्य कुरा गरुम । तथास्तु ।




