राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद(डीपी) अर्यालको जापान भ्रमण स्थगित भएको छ ।
अर्याल रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापानको आइतबार हुने दोस्रो अधिवेशन सहितका कार्यक्रमका लागि शुक्रवार साँझ जापान उड्ने तयारीमा थिए । तर अहिले महत्त्वपूर्ण राजनीतिक संवादहरू निश्कर्षउन्मुख भएकाले अन्तिम अवस्थामा भ्रमण स्थगित भएको अर्यालको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार जापानको कार्यक्रम पूर्वनिर्धारित भए पनि अहिले रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्ले पनि देश बाहिर कार्यक्रममा भएको र चुनाव केन्द्रित केही महत्त्वपूर्ण संवादहरू चलिरहेकाले आइतबार हुने जापानको कार्यक्रममा सहभागी हुन नसक्ने भएका हुन् ।
फेरी केही समय पछि जापान जाने तयारी गरिए पनि अहिले नै मिति तय नभएको कार्यवाहक सभापति अर्यालको सचिवालयले जनाएको छ ।
अर्याल अनुपस्थित हुने भए पनि जापान सम्पर्क विभागको कार्यक्रमका लागि रास्वपाका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारी भने जापान पुगिसकेका छन् ।
उता उपसभापति डा.वाग्ले पनि रास्वपाको पार्टी अभियानकै क्रममा अस्ट्रेलियामा छन् । रास्वपा प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलियाका विभिन्न क्षेत्रका राजनीतिक संवाद तथा अधिवेशनहरूमा वाग्ले सहभागी भएका छन् । साथै नेपाली समुदायहरुसँग पनि अन्तरसंवाद कार्यक्रम गरिरहेका छन् ।




