विश्वासको मत लिन प्रदेशसभा बैठकमा मुख्यमन्त्री नै आएनन्

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । उनले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आज मधेस प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिएका थिए । 


पत्रकार सम्मेलनमा उनले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताएका थिए । विभिन्न दलसँग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै शङ्का नरहेको दाबी गरेका थिए । तर, आज भने निर्धारित प्रदेशसभा बैठकमै सहगामी भएनन् । 



 बिहान ८ : ३० बजे बस्ने भनिएको मधेस प्रदेश सभा बैठक १० : ३० मा सुरु भएको थियो । मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए । जस कारण प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा मुख्यमन्त्री यादव नै स्वयम अनुपस्थित भएका हुन् । प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।



सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । आफ्नो पक्षमा मत जुटाउन यादव सक्दो कोसिस गरिरहेको बताइएको छ ।