विद्यार्थी संगठन : औचित्यको प्रश्न सकियो, अस्तित्वको सुरु भयो

 गत २३ भदौमा नयाँ बानेश्वरमा १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईंको प्रहरीको गोलीबाट ज्यान गयो । व्यवस्थापन संकाय लिएर कक्षा १२ मा पढिरहेका उनी कलेज पोशाकमै रक्ताम्य भएर ढलेका थिए ।

भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग राखेर जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा चौलागाईं जस्ता धेरै विद्यार्थीले अनाहकमा ज्यान गुमाए । धमाधम विद्यार्थी मारिँदा पनि विद्यार्थीकै हकहितका लागि खुलेको दाबी गर्ने विद्यार्थी संगठनहरूले आवाज उठाएनन् ।

आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई शहीद घोषणा गरिएको छ । आमनेपालीले जेनजीका मागमा अपनत्व लिए । तर, विद्यार्थीको प्रतिनिधित्व गर्छौं भन्ने विद्यार्थी संगठन गम्भीर देखिएनन् । विद्यार्थी संगठनले गर्न नसकेको आन्दोलन आम विद्यार्थीले गरिदिएको टिप्पणी भइरहँदा उनीहरूले आफूलाई आन्दोलनका विपक्षमा उजुरबाजुरमा केन्द्रित गरे ।

राजनीतिक दल लगायतलाई सुध्रिनु पर्ने म्यान्डेट दिएको जेनजी आन्दोलनलाई उनीहरू आन्दोलन नै मान्न तयार देखिंदैनन् । बरु यसलाई अपराधीकरण करार गरेर आन्दोलन तुहाउने प्रपञ्च रचेको आरोप छ । ‘सेन्टिमेन्ट क्याच’ गर्न बाहिर जेनजीको पक्षमा भाषणबाजी गरे पनि विद्यार्थी संगठनको व्यवहार ठीक उल्टो देखिन्छ ।

आन्दोलनको एक महिनापछि नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र शाह र सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दियो । अनेरास्ववियुलाई पछ्याउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसं) ले पनि बालेन्द्र र सुदन विरुद्ध उजुरी दिए । उजुरीमा दुवै जनालाई २४ घण्टाभित्र पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।

७६ जनाको ज्यान जाने गरिको हिंसा विरोध नगरेको विद्यार्थी संगठन गोली चलाउन आदेश दिने नेताहरूको पक्षमा उभिएको सुदन गुरुङको बुझाइ छ । उनले फेसबुकमा भनेका छन्, ‘आफ्नो देशमा सुशासन र राम्रो व्यवस्था स्थापनाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थी र युवामाथी जब अन्धाधुन्ध गोली बर्षाइयो, त्यतिबेला विद्यार्थीका नाममा खुलेका संगठनका हर्ताकर्ता कहाँ हराए ?’

अनेरास्ववियुका तत्कालीन अध्यक्ष सुजन कडरियाले दिएको राजीनामाको विषय निकै विवादित बन्यो । तत्कालीन अवस्थामा राजीनामा दिने निर्णय सही नै भएको उनको भनाइ छ । कडरियाले अनलाइखबरसँग भने, ‘त्यो बाध्यात्मक परिस्थिति थियो । आमविद्यार्थी गोली खाएर ढल्दै गर्दा म पदमा रहिरहन सकिनँ ।’

जेनजी आन्दोलनअघि पनि विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न नउठेको हैन । कोभिड–१९ महामारीले विद्यार्थीको पढाइ थिलथिलो पारेका बेला पनि विद्यार्थी संगठनहरू बोलेका थिएनन् ।

कडरियाको राजीनामा पछि दीपक धामीलाई अनेरास्ववियुको अध्यक्ष बनाइएको छ । आलोपालोको सहमति अनुसार यस संगठनमा धामीपछि अञ्जना सिवाकोटीको पालो आउँछ ।

जेनजी आन्दोलनलाई हिंसात्मक भनेर टिप्पणी गरिरहेको एमाले र यसको भातृसंस्था अनेरास्ववियुलाई जेनजीकै नाममा राजनीति गर्नुपर्ने बाध्यता भने छ । जस्तो, धामीले अध्यक्ष बनेपछि जेनजी प्रतिनिधिलाई सदस्यता दिएर पदभार ग्रहण गरे । उर्जा खत्री र भूमिका दर्नाललाई सदस्यता दिएर आफूहरूले जेनजीको भावना समेट्ने भन्दै कार्यभार सम्हाले ।

जबकी, मातृपार्टी एमाले र संगठनकै नेताहरू २३ र २४ भदौको आन्दोलनमा सहभागीलाई अराजक भनिरहेका छन् । रक्षा बम लगायतलाई ‘देशद्रोही’ करार गर्न पनि पछि परेका छैनन् । जेनजी अगुवा सुदन गुरुङविरुद्ध उजुरी हाल्न गएको प्रसंग त माथि आइसक्यो ।

एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओली, महेश बस्नेत, सूर्य थापा लगायतले जेनजीबारे सार्वजनिक रूपमै टिप्पणी गरिरहेका छन् । थापाले एउटा कार्यक्रममा जेनजीलाई ‘पढ्न–लेख्न नसकेका कलेज बंकरहरू हुन् यिनीहरू, सिंहदरबार जल्दा सेलिब्रेसन गर्ने जेनजी हुन्छन् ? अपराधी हुन् यिनीहरू’ भनेका थिए । नेताहरूका यस्ता अभिव्यक्तिप्रति अनेरास्ववियुले आपत्ति जनाएको छैन ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पूर्व उपकुलपति केदारभक्त माथेमा विद्यार्थी संगठनहरूका दलीय स्वार्थबाट माथि उठ्न नसक्ने लगायतका कमीकमजोरीकै परिणाम ठान्छन्, जेनजी आन्दोलन ।

‘जब विद्यार्थी संगठनहरूले साँचो विद्यार्थी मुद्दा बोकेनन्, तब युवाहरू आफैं सडकमा आए,’ माथेमाले भने, ‘त्यसैले त म २०६२/६३ पछिको अवस्थामै यिनको औचित्य सकिएको ठान्थेँ । अब नयाँ स्वायत्त र प्राज्ञिक स्टुडेन्ट काउन्सिलको समय आएको छ ।’

औचित्यमाथि नै थियो प्रश्न

समाजशास्त्रका उपप्राध्यापक डा. दीपेश घिमिरे पनि नेपालका दलनिकट विद्यार्थी संगठनहरूले लामो समयदेखि विद्यार्थीको हकहितमा भन्दा पार्टीको एजेन्डालाई प्राथमिकता दिएर आफ्नो सान्दर्भिकता गुमाएको बताउँछन् ।

जेनजी विद्रोहपछि यो संकट झन् गहिरिएको उनको ठम्याइ छ । उनी विद्यार्थी संगठनहरू विश्वविद्यालय बन्द गर्नेदेखि पार्टीको पक्षमा विज्ञप्ति निकाल्नमै सीमित भएको बताउँछन् ।

त्रिविमा कार्यरत उपप्राध्यापक घिमिरे पञ्चायतकालदेखि नै विद्यार्थी संगठनहरू राजनीतिक उद्देश्यका लागि गठन भएको बताउँछन् ।

मूल्यवृद्धिविरुद्ध जुलुस, टायर बाल्ने, सडक बन्द गर्ने कामबाहेक अपवादमा मात्र शैक्षिक मुद्दा उठेको उनको धारणा छ । घिमिरे भन्छन्, ‘अहिले कुनै झन्डा नबोकेका, दलमा संगठित नभएका युवाहरूले जुन विद्रोह गरे, त्यसले प्रमाणित गर्‍यो– दलको भ्रातृ संगठनमा बाँधिएका युवाले आफ्नो स्वतन्त्र दृष्टिकोण, विश्वास र साहस गुमाउँदा रहेछन् । अझ जेनजी आन्दोलनपछिका गतिविधिले विद्यार्थी संगठन झन् मृतप्राय बनेको देखिन्छ ।’

जेनजी आन्दोलनअघि पनि विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न नउठेको हैन । कोभिड–१९ महामारीले विद्यार्थीको पढाइ थिलथिलो पारेका बेला पनि विद्यार्थी संगठनहरू बोलेका थिएनन् ।