नयाँ नेतृत्व चयनका लागि (मंसिर २७–२९) हुने नेकपा एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पार्टीमा दुई समूह (प्यानल) बिच प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ । नेताहरू समूहगत रूपमा बिस्तारै खुल्न थालेका छन् ।
११औँ महाधिवेशनमा एउटा प्यानलको नेतृत्व अध्यक्ष केपी शर्मा ओली र अर्को प्यानलको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने तयारी गरेसँगै प्रतिनिधिहरूको आन्तरिक हिसाबकिताबमा दुवै पक्ष जुटेका हुन् । ओली र पोखरेल दुवैले अध्यक्ष पदमा उम्मेदवारी दिने यसअघि नै बताइसकेका छन् ।
ओलीको पक्षमा गुरु बराल, रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, पद्मा अर्याल लगायतका नेता खुलेका छन् भने पोखरेलको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायत खुलेका छन् । नेताहरू विष्णु पौडेल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ लगायत नेता अहिलेसम्म स्पस्ट रुपमा कतै पनि खुलिसकेका छैनन् । यद्यपि उनीहरू पनि अन्तिममा ओलीलाई नै साथ दिने एमाले नेताहरू बताउँछन् । उनीहरूको दाबी अनुसार केन्द्रीय कमिटीमा पनि ओलीको पक्षमा ८० प्रतिशत सदस्य छन् ।
पोखरेललाई पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पूर्ण समर्थन रहने बताइएको छ । प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा भण्डारीले अपिल जारी गर्दै एमालेका संगठित सदस्यहरूलाई सन्तुलित प्रतिनिधि चयनमा ध्यान पुर्याउन भनेकी थिइन् । त्यसक्रममा भण्डारीले दुई वर्ष अघि नै आफूले विधानसम्मत ढंगले नवीकरण गरिसकेको पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण महाधिवेशनमा आफ्नो भौतिक उपस्थिति नहुने तर पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले साथमै रहने बताएकी थिइन् ।
‘विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टीपङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनै छ,’ भण्डारीले आफ्नो अपिलमा भनेकी थिइन् ।
मंसिर १३ गते देशभर प्रतिनिधि चयन सक्ने एमालेको तयारी थियो, तर कतिपय स्थानमा विवाद हुँदा रोकिएपछि मंसिर १५ गतेसम्म पनि प्रतिनिधि छनोटको काम गरेको थियो । एकाधस्थान बाहेक प्रतिनिधि छनोटको काम सकिएपछि एमालेका दुवै समूह कहाँबाट कसका कति प्रतिनिधि छनोट भए भनेर आन्तरिक हिसाबकिताबमा व्यस्त छन् ।
‘अध्यक्षका दावेदार दुवै समूह छनोट भएका प्रतिनिधिको आन्तरिक हिसाबकिताबमा छन्’, अहिलेसम्म ओली र पोखरेल कुनै पनि समूहमा नखुलेका एक पदाधिकारीले रातोपाटीसँग भने, ‘दुवै समूह आ–आफ्नो पक्षका प्रतिनिधि कति छनोट भए भनेर आन्तरिक हिसाब गर्दै खुसी भइरहेका छन् ।’
ती पदाधिकारीका अनुसार स्वभावैले ओली पक्षका प्रतिनिधि धेरै देखिए पनि गोप्य मतदानका क्रममा फरक नतिजा आउनसक्ने बुझाइमा पोखरेल समूह देखिन्छ । ‘जुनसुकै चुनावमा ट्रेन्ड एउटा देखिने तर मतदाताले मतदान अर्कोतिर गर्नसक्ने अवस्था रहन्छ, त्यसैले प्रतिनिधिहरू ओलीका बढी देखिए पनि मतदान पोखरेललाई गर्न सक्ने त्यो समूहको बुझाइ र विश्लेषण देखिएको छ’, उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका एक पदाधिकारी भने ओली समूहको विश्लेषण फरक रहेको बताउँछन् । उनले रातोपाटीसँग भने, ‘देशभरबाट छानिएका प्रतिनिधिको नाम हेर्दा ८० प्रतिशत प्रतिनिधि संस्थापन अर्थात् ओली पक्षबाट आएकाले ईश्वर पोखरेलको उम्मेदवारी उम्मेदवारीमै मात्र सीमित हुने बुझाइ छ ।’
- उत्साहित पोखरेल समूह
मंसिर १५ गते प्रतिनिधि छनोटको काम लगभग सकिएपछि सोही दिन बेलुका ईश्वर पोखरेल समूहका नेताहरूबिच मदन भण्डारी फाउन्डेशनको कार्यालय थापागाउँमा छनोट भएका प्रतिनिधिहरूको आन्तरिक हिसाबकिताबबारे छलफल भएको थियो । छलफलमा पोखरेलसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू सहभागी थिए ।
उक्त छलफलमा प्रतिनिधि र पोखरेल समूहबाट पदाधिकारीमा उम्मेदवारी दिने सम्भावित नामबारे समेत चर्चा भएको बताइएको छ । सो समूहले नेता विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङलाई आफ्नो कित्तामा ल्याउने प्रयास गरे पनि उनीहरू ओलीकै समूहबाट निर्वाचन लड्ने संकेत देखिएकाले सोही अनुसार प्यानल निर्माण गर्नुपर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
‘विष्णु पौडेल र पृथ्वीसुब्बा (पीएस) गुरुङसँग पनि छलफल भएको छ, तर उहाँहरूले यता आउने खासै चासो दिनुभएको छैन’, पोखरेल पक्षका एक नेताले भने, ‘अब हाम्रो पक्षबाट महासचिवमा कसलाई अघि सार्ने भन्ने कुराकानी केन्द्रित हुँदै गएको छ ।’
पोखरेल समूहले गुरुङलाई आफ्नो समूहबाट महासचिव बनाउन प्रस्ताव गरेको थियो । तर उनी नआउने भएपछि यो समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जनालाई महसचिवका रूपमा अघि सार्ने तयारी भएको छ । गुरुङले सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा आफू महासचिवको दावेदार रहेको बताएका थिए । यद्यपि ओली निकट स्रोतका अनुसार गुरुङलाई ओली समूहले उपाध्यक्षमा अघि सार्ने तयारी गरेको छ ।
‘सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेशमध्ये एक जना सहमतिमै महासचिवको उम्मेदवार बनाउने भन्ने मोटो सहमति भएको छ’, पोखरेल समूहका एक नेताले भने, ‘पहिला ओली समूहको टिम हेरेपछि मात्र घोषणा गर्ने कि भन्ने छ ।’
- मंसिर १७ सम्म प्रतिनिधिको नाम केन्द्रमा आउने
मंसिर १७ गते बेलुकासम्म सबै प्रदेशले निर्वाचित प्रतिनिधिहरूको लिस्ट केन्द्रमा पठाइसक्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।
‘निर्वाचित प्रतिनिधिको नाम केन्द्रमा आइसकेपछि महाधिवेशनको अर्को चरण सुरु हुन्छ’, अधिकारीले भने, ‘त्यसपछि को–को उम्मेदवार हुने भन्ने नेताहरूबिच टुङ्गो लाग्ला ।’
निर्वाचित र केन्द्रीय कमिटीबाट मनोनितसहित झन्डै २२ सय प्रतिनिधिले महाधिवेशनमा मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् । प्रतिनिधिहरू कतै निर्वाचनमार्फत त कतै सर्वसम्मत चयन भएका छन् । कतिपय स्थानमा ओली–पोखरेल समूहले भागबन्डाका आधारमा सहमतिमै प्रतिनिधि छनोट गरेका छन् ।
- प्रतिस्पर्धामा आउनै चाहँदैनन् युवा
रोचक त के छ भने जेनजी आन्दोलनपछि प्रायः सबैजसो पार्टी कुनै न कुनै रूपमा पुनर्गठन र रुपान्तरणको प्रक्रियामा पुगेका छन्, तर एमालेमात्र यस्तो पार्टी हो जो जेनजी पुस्ताको माग अनुसार पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनको पक्षमा देखिएको छैन । सडकको माग अनुसार पार्टी नेतृत्वको पुनर्गठन र रुपान्तरण नहुने एमालेका नेताहरूले खुलेआम भन्दै आएका छन् ।
पाका नेताहरूले यसो भनिरहँदा एमालेभित्रैका युवा नेताहरू पनि नेतृत्वको भनाइलाई प्रतिवाद गर्न र आफू अघि सर्ने हिम्मत गर्न सकेका छैनन् । बरु उनै ७० वर्ष उमेर पार गरेका ओली वा पोखरेललाई नेतृत्वमा पु¥याउने प्रयत्नमा युवा नेताहरू समेत सामेल भइरहेका छन् ।
‘एमालेका नेता कार्यकर्ता अन्य पार्टीको भन्दा अलिक प्रतिवद्ध रहँदै आएका छन् । मुलुकको अवस्था र शीर्ष नेतृत्वको निर्देशनविपरीत हत्तपत्त बाहिर जान चाहँदैनन्’, एमालेका एक युवा नेताले रातोपाटीसँग भने, ‘ओली वा ईश्वरको विकल्पमा म अध्यक्षमा प्रतिस्पर्धा गर्छु भन्ने आँट कसैको पनि छैन । जसले गर्दा उही पुरानै नेताको फेरो समात्नुको विकल्प रहँदैन ।’




