नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि कर्णालीका १० मध्ये ९ जिल्लामा प्रतिनिधि छनोटको काम सकिएको छ । मुगुबाहेक सबै जिल्ला र प्रदेश कमिटीको प्रतिनिधि छनोटको काम सकिएको एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले रातोपाटीलाई बताए ।
उनका अनुसार मुगुमा प्रतिनिधि बन्ने आकाङ्क्षीहरूको लर्को लागेको र त्यहाँ मिलाउन सकस भएको छ । त्यसबाहेक सबैतिर सम्पन्न भएको छ । कार्यतालिका अनुसार शनिबार नै प्रतिनिधि छनोट गरिसक्नुपर्ने थियो । तर शनिबार कर्णालीका रुकुम पश्चिम, जाजरकोट, सल्यान, जुम्ला, डोल्पा र सुर्खेत–२ मा मात्रै प्रतिनिधि छनोटको काम सकिएको थियो । कालिकोटमा आइतबार र बाँकी दैलेखका दुईवटै क्षेत्र, हुम्ला, सुर्खेत–१ र प्रदेश कमिटीको प्रतिनिधि छनोटको काम सोमबार मात्रै सम्पन्न भएको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार कर्णालीका सबैजसो ठाउँमा सर्वसम्मत तरिकाले प्रतिनिधि छनोटको काम टुंग्याइएको छ । रुकुम पश्चिममा भने निर्वाचन भयो । आवरणमा सर्वसम्मत भनिए पनि प्रतिनिधि बन्न र बनाउन नेता र कार्यकर्ताहरूबिच निकै रस्साकस्सी नै चलेको छ । जसका कारण प्रतिनिधि छनोटमा विलम्ब भयो । कर्णालीबाट ११३ जना प्रतिनिधि छनोट हुन्छन् ।
कुन जिल्लाबाट को–को प्रतिनिधि ?
डोल्पा
शनिबार नै सम्पन्न डोल्पामा महाधिवेशनका लागि ८ जना प्रतिनिधि छनोट भएका छन् । जसमा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, जिल्ला पार्टी अध्यक्ष लंकबहादुर रोकाया, गोपाल विक, चन्द्राकुमारी बुढा, विश्वचन्द्र डसाल, धावासम्दुक गुरुङ, जिल्ला पार्टी उपसचिव जुनी बुढा र नन्दसिंह बुढा रहेका छन् ।
प्रतिनिधि छनोट भएका नन्दसिंह बुढा कर्णालीको राजनीतिमा एक विवादास्पद पात्र हुन् । गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा उनीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
नन्दसिंह सुरुमा एमालेमा ओली समूहकै नेता भनेर चिनिन्थे । तर पछि मन्त्री पदमा रहिरहन ‘फ्लोर क्रस’ गरे । ६ महिनापछि उनको पदावधि सकियो । एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका उनी २०७९ को चुनावअघि पुनः एमालेमै फर्किएका थिए । उनै नन्दसिंह अहिले पुनः प्रतिनिधि छनोट भएका छन् ।
डोल्पा (क) बाट २०७४ मा ४ हजार ८५९ मत ल्याएर कर्णाली प्रदेश सभा सदस्य निर्वाचित भएका उनी एमालेकै कोटाबाट कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भइसकेका व्यक्ति हुन् । नेकपाभित्र भाँडभैलो भएका बेला मन्त्री पद बचाउनकै लागि पार्टीको ह्विप उल्लङ्घन गर्दै ‘फ्लोर क्रस’ गरेर चर्चामा आएका थिए ।
नन्दसिंह सुरुमा एमालेमा ओली समूहकै नेता भनेर चिनिन्थे । तर पछि मन्त्री पदमा रहिरहन ‘फ्लोर क्रस’ गरे । ६ महिनापछि उनको पदावधि सकियो । एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका उनी २०७९ को चुनावअघि पुनः एमालेमै फर्किएका थिए । उनै नन्दसिंह अहिले पुनः प्रतिनिधि छनोट भएका छन् ।
सुर्खेत
सुर्खेत जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट ९ जना प्रतिनिधिहरू निर्विरोध निर्वाचित भए । जसमा खुलातर्फ वर्तमान अध्यक्ष कुलमणि देवकोटा, एकीकृत समाजवादीबाट फर्किएका नेता मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्णप्रसाद पौडेल, भीमबहादुर रावत चयन भएका छन् । यस्तै, महिलातर्फ टिकाकुमारी अधिकारी, टिकाकुमारी घले गुरुङ, निर्मला राना मगर चयन भएका छन् । यस्तै युवातर्फ प्रेम खड्का चयन भएका छन् ।
२ मा प्रतिनिधि छनोट शनिबार नै सम्पन्न भएको थियो । तर सुर्खेत–१ मा सोमबार मात्र छनोट भयो । जसमा खुलातर्फ पूर्वमन्त्री खड्गबहादुर खत्री, मानबहादुर खत्री, टिकाराम सोमै, कविन्द्रकुमार केसी चयन भएका छन् । यस्तै, महिलातर्फ तुल्सी शर्मा, विमला खड्लुक र युवातर्फ पूर्णबहादुर थापा चयन भएका छन् । दुवै निर्वाचन क्षेत्रमा दलिततर्फ पूर्वसांसद राजु नेपाली, सुशीला विश्वकर्मा, वर्तमान जिल्ला समन्वय समितिका सभापति गंगाराम सुनार र कर्णबहादुर नेपाली चयन भएका छन् ।
जाजरकोट
शनिबार नै सम्पन्न जाजरकोटमा खुलातर्फ लालबहादुर महतारा, करवीर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह प्रतिनिधि छनोट भएका छन् । त्यस्तै महिलातर्फ तारा शाक्य, कुमारी थापा, सुनिता बोहरा छनोट भएका छन् । दलिततर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली, कौशीला कामी छनोट हुँदा युवातर्फ विश्वविक्रम शाह छनोट भएका छन् ।
जुम्ला
जुम्लाबाट ६ जना प्रतिनिधिहरू चयन भएका हुन् । खुलातर्फ शान्तिलाल महत र देवीलाल थापा चयन हुँदा महिलातर्फ शान्ता शाही र मेनका पछाई चयन भएका छन् । त्यस्तै युवातर्फ धीरज जैसी र दलिततर्फ रामबहादुर नेपाली सर्वसम्मत रूपमा चयन भएका छन् ।
सल्यान
यहाँ खुलातर्फ भीमबहादुर सेन (अध्यक्ष), ओजबहादुर बुढाथोकी (उपाध्यक्ष), घनश्याम शर्मा र लालबहादुर रावत प्रतिनिधि छनोट भएका छन् । यस्तै, महिलातर्फ पुष्पाकुमारी बोहोरा (सचिव) र सनसिलता ओली (डिसी), ४० वर्षमुनिको तर्फबाट गणेशमान सिंह (उपसचिव) र दलिततर्फ भिउसेन नेपाली प्रतिनिधि छनोट भएका छन् ।
रुकुम पश्चिम
रुकुम पश्चिममा प्रतिनिधि छनोटका क्रममा भएको चुनावमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल पराजित भएकी छन् । चुनावमा महिलातर्फ दुई प्रतिनिधि छनोट गर्नुपर्नेमा चार जना प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा २०४ मतसहित कौशिला केसी र २०३ मतसहित हिमकुमारी केसी निर्वाचित भए । तर, प्रदेश सांसद मल्लले १११ र डण्डी कार्कीले ११६ मत मात्र प्राप्त गरे ।
याे पनि
‘पटक–पटक अपमानित भएँ, पार्टीभित्रको निरङ्कुशता सहेरै बसियो’
पार्टीको जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ रुकुम पश्चिमकी अध्यक्षसमेत रहेकी सांसद मल्लले प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा कम मत प्राप्त गरिन् । शनिबार बेलुका भएको निर्वाचनमा खुलातर्फ नन्दराम देवकोटा (२८१) र दिनेश चन्द (२५४) निर्वाचित भएका छन् । यस्तै दलिततर्फ शशिराम नेपाली र युवातर्फ प्रकाश खड्का निर्वाचित भए ।
दैलेख
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रतिनिधि छान्न सबैभन्दा सकस बन्यो । सोमबार मात्र प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ ।
दैलेख–१ मा खुलातर्फ स्वयं प्रदेश उपसचिव शर्मा, जिल्ला समन्वय समितिका पूर्वप्रमुख प्रेमबहादुर थापा, निजी विद्यालयका सञ्चालक नैनसिंह खत्री र हिमालयजंग शाह चयन भएका छन् । यस्तै, महिलातर्फ तप्ता थापा, खगिसरा विसी र लक्ष्मी कार्की तथा युवातर्फ जनकप्रसाद न्यौपाने चयन भएका छन् ।
याे पनि
दैलेखमा प्रतिनिधि छनोटः ओली पक्षभित्रै प्रतिष्ठाको लडाइँ, बल्ल लाग्यो टुंगो
दैलेख–२ खुलातर्फ पार्टीका जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, युवा नेता रुद्रबहादुर शाही, धीरबहादुर शाही र तिलकप्रसाद रिजाल चयन भएका छन् । महिलातर्फ विष्णु थापा, कल्पनाकुमारी थापा र नन्दाकुमारी आचार्य तथा युवातर्फ सुशीलकुमार थापा चयन भएका छन् । दुवै क्षेत्रको दलिततर्फ कर्णालीकी भौतिक पूर्वाधार राज्यमन्त्री गमता विक, पूर्वएकीकृत समाजवादीबाट एमाले फर्किएकी पार्वती विसुन्के, शशिराम विक र हिक्मत विक प्रतिनिधि चयन भएका छन् ।
हुम्ला
हुम्लामा ६ जना प्रतिनिधि छनोट भएका छन् । सोमबार सार्वजनिक विवरण अनुसार, खुलातर्फ ज्ञामी बुमी, लोकबहादुर हमाल, युवातर्फ तीर्थराज बोहरा, दलिततर्फ पर्वत सुनार र महिलातर्फ प्रतिमा लामा र विमलाकुमारी शाही प्रतिनिधि चयन भएका छन् ।
कालिकोट
कालिकोटमा आइतबार मात्रै प्रतिनिधि छनोटको काम सकिएको हो । यहाँ विभिन्न क्लस्टरबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ तुलाराज मल्ल, पूर्वमन्त्री कुर्मराज शाही, दयाराम सिंखडा र तपेन्द्रजंग शाही चयन भएका छन् भने युवातर्फ टेकबहादुर बोगटी चयन भएका छन् ।
खुलातर्फ चयन भएका कुर्मराज शाही कर्णाली प्रदेश सरकारका तत्कालीन भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । उनी तत्कालीन नेकपा कालमा माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन एमालेको निर्णयविरुद्ध ‘फ्लोर क्रस’ गरेर चर्चामा आएका थिए ।
यस्तै महिलातर्फ सुभद्रा सिंह र जलशा बुढा चयन भएका छन् भने दलितबाट व्यासी तिरुवा (विकास) र गोमा नेपाली चयन भएका छन् । खुलातर्फ चयन भएका कुर्मराज शाही कर्णाली प्रदेश सरकारका तत्कालीन भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । उनी तत्कालीन नेकपा कालमा माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन एमालेको निर्णयविरुद्ध ‘फ्लोर क्रस’ गरेर चर्चामा आएका थिए ।
प्रदेश कमिटी
प्रदेश कमिटीबाट ५ जना प्रतिनिधि छनोट हुन्छन् । जसमा खुलातर्फ पार्टीका प्रदेश अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई र सचिव ध्रुव शाही चयन भएका छन् । यस्तै महिलातर्फ उपसचिव पद्मा खड्का र सचिवालय सदस्य कौशीला खत्री चयन भएका छन् ।
कँडेल पक्षको दबदबा कायमै
केन्द्रमा आउने महाधिवेशनमा पार्टी उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ । तर, कर्णालीमा ईश्वरको पक्षमा खासै नेताहरू खुलेको देखिन्नन् । प्रदेश तहका एक नेताका अनुसार प्रतिनिधि चुनिएकामध्ये छिटफुट १/२ जना बाहेक खासै ईश्वरको पक्षमा नेताहरू छैनन् ।
यद्यपि यहाँ आन्तरिक रूपमा स्थायी कमिटी सदस्यहरू यामलाल कँडेल र गोरख बोगटीबिच कडा प्रतिस्पर्धा हुँदै आएको छ । यी दुवै नेता केन्द्रमा केपी ओली पक्षधर नै हुन् । तर, प्रदेशमा यी दुईबिच आन्तरिक प्रतिस्पर्धा हुने गरेको छ ।
यसअघि प्रदेश कमिटीको अधिवेशनका क्रममा दुई समूहले प्यानल नै लिएर चुनावी मैदानमा गएका थिए, जहाँ कँडेल पक्षले वर्चस्व जमाएको थियो ।
अहिले प्रतिनिधि छनोटमा बोगटीकै गृहजिल्ला हुम्लाको ६ जनामध्ये १ जनामात्रै बोगटी पक्षधर हुन् । त्यहाँ कँडेलकै वर्चस्व कायम छ । त्यहाँ दल रावल जस्ता नेताहरू कँडेलका पक्षमा उभिँदै आएका छन् ।
अहिले प्रतिनिधि छनोटको क्रममा पनि कँडेल पक्षले एकलौटी वर्चस्व जमाउन सफल भएको छ । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका कँडेलको एमाले कर्णालीको राजनीतिमा दबदबा छ । उनी बलिया नेताका रूपमा स्थापित छन् । अहिलेसम्म उनीसँग टक्कर लिनसक्ने कर्णालीका अर्को नेता छैन । कँडेलको तुलनामा गोरख बोगटी निकै कमजोर छन् । यसअघिको अधिवेशनमा उनलाई विनोदकुमार शाह, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य लगायतका नेताहरूले सघाएका थिए । तर कँडेलसँगको प्रतिस्पर्धा निकै कमजोर बन्यो ।
अहिले प्रतिनिधि छनोटमा बोगटीकै गृहजिल्ला हुम्लाको ६ जनामध्ये १ जनामात्रै बोगटी पक्षधर हुन् । त्यहाँ कँडेलकै वर्चस्व कायम छ । त्यहाँ दल रावल जस्ता नेताहरू कँडेलका पक्षमा उभिँदै आएका छन् ।
सल्यान, रुकुम पश्चिम र सुर्खेतका दुवै क्षेत्रमा कँडेल पक्षले एकछत्र राज गर्न सफल भएको एक नेताले बताए । सुर्खेतमा २१ प्रतिनिधिमध्ये बोगटी पक्षधर मानिएका नेता नवराज रावतले आफ्ना भतिजा भीमबहादुर रावतलाई प्रतिनिधि बनाएका छन् । त्यसबाहेक सबै कँडेल निकट मानिन्छन् ।
एक अर्का नेताका अनुसार, कालिकोट र जाजरकोटमा आधा–आधा जस्तो देखिएको छ । डोल्पामा कँडेल पक्ष हावी छ भने दैलेखमा बोगटी पक्षधर मानिएका विनोद शाहले केहीलाई प्रतिनिधि बनाउन सफल भएका छन् । त्यस बाहेक दैलेखमा पनि कँडेल पक्ष हाबी मानिएको अर्का नेताले रातोपाटीलाई बताए । रुकुम पश्चिममा बोगटी पक्षधर सांसद तुलसा मल्ल पराजित भइन् ।
जस्तोः प्रदेश कमिटीका पाँच जना प्रतिनिधिमध्ये पद्मा खड्का बाहेक सबै यामलाल कँडेल पक्षधर हुन् ।





