हाम्रो एकता चुनाव जित्न मात्रै होइन: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले देशका विद्यमान समस्या हल गर्न सबै बामपन्थी लोकतान्त्रिक शक्तिले हातेमालो गर्नुपर्ने बताएका छन् । 

सोमबार विराटनगरमा आयोजित एकता संदेशसभामा उनले भदौ २३ गतेले सबैलाई रामैसँग झकझक्याएको र नेताहरूलाई आत्म समीक्षा गर्न बाध्य पारेको बताए ।  

भदौ २४ गतेको जालझेल र षडयन्त्रले देश अफ्ठ्यारो अवस्थामा पुगेको बताउँदै उनले झण्डै दुई दिन नेपाल अब रहने होकी हैन भन्ने अवस्थासमेत देखिएको बताए । 

उनले भने, ‘दुई दिन त नेपालनै नरहने होकी जस्तो पनि भएको थियो । माधव नेपाल र म त्यसको साची हौँ । राजा आउने, सेनाले लिने, राष्ट्रपतिले राजीनामा दिने भन्ने विभिन्न खालका चर्चा चले पनि सेना र राष्ट्रपतिले शितलनिवास बोलाएपछि अन्तरिम सरकार बनाउन सफल भएपछि अहिलेको व्यवस्था बचेको हो ।’  

हाहुको सरकार भन्ने झुट राष्ट्रपतिले सर्वोच्चमा पठाएको चिठ्ठीले उजागर गरेको प्रचण्डको दाबी छ । राष्ट्र अहिले पनि संकटमै रहेको संकटमुक्त हुन नसकेको भन्दै उनले राष्ट्रलाई संकटबाट मुक्त पार्ने उपाय भनेको निर्वाचन नै भएको बताए ।  

राष्ट्रको रक्षा गर्न नेपाली जनताको आत्म निर्णयको अधिकार रक्षाका लागि सेना र प्रहरीले मात्रै नपुग्ने उनले बताए । राष्ट्र र राष्ट्रको स्वतन्त्रता रक्षा गर्न जनता नै फौंज बन्ने संकल्प गर्नुपर्ने नभए देश बचाउन नसकिने उनको भनाई छ ।  

तत्काल ठूला शक्तिहरूसँग लड्ने, मिसाईल बनाउनसक्ने परिस्थिति पनि नेपालको नरहेकाले देशको रक्षाका लागि जनता नै फौंज बन्ने संकल्प लिनुपर्ने उनले बताए ।  

साम्राज्यवाद भनेको कागजी बाघ भएकाले जनताको तागतले मात्रै साम्राज्यवादीहरूलाई हराउन सकिने उनको धारणा छ । पार्टीहरूको एकता र विभाजन स्वभाविक रहेको तर, यो पटकको एकता त्यस्तो नभएको उनको दाबी । १६ वटा कम्युनिष्ट पार्टी एकता हुनु ऐतिहासिक घटना भएको भन्दै उनले भने ‘अब हामी, पुरानो तरिकाले चल्दैनौं, नयाँ तरिकाले अगाडि बढ्छौं ।’