नेकपा एमालेको महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि चयन गर्न सम्पन्न निर्वाचनको मतगणनामा कुटपिट भएको छ । मतपेटिका समेत गायब पारिएको छ ।
मतदानदेखि गणनासम्ममा धाँदली भएको भन्दै सुरु भएको विवादले उग्र रूप लिएपछि शनिबार मध्यरात कुटाकुट भएको हो । त्यसक्रममा मतमेटिका नै गायब बनाइएको छ ।
तनहुँको क्षेत्र नम्बर २ मा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भए पनि १ मा भने मतदान भएको थियो ।
क्षेत्र नम्बर १ मा भानु नगरपालिका, आँबुखैरेनी, देवघाट, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका १२ वडा पर्छन् । बन्दीपुर गाउँपालिकाको मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि अवस्था असामान्य बन्न पुगेको स्थानीय नेताहरूले बताएका छन् ।
बन्दीपुर गाउँपालिकाको सय मत गणना हुँदा घनश्याम देवानले शत प्रतिशत मत प्राप्त गरेका थिए भने फुलमती थापाले ९९ मत पाएकी थिइन् । त्यसपछि सतप्रतिशत मत प्राप्त हुनै नसक्ने भन्दै मरेको मान्छेको नाममा पनि मतदान गरेको भन्दै विवाद उत्पन्न भएको थियो ।
देवान नेकपा एकीकृत समाजवादी पार्टीबाट फेरि एमालेमै फर्किएका निवर्तमान सांसद किसान श्रेष्ठनिकट मानिन्छन् । तनहुँ गृहजिल्ला भएका श्रेष्ठ केही दिनअघि मात्र एमालेमा फर्किएका हुन् । उनकै आडमा देवानको समूहले धाँदली गरेको अर्को पक्षले आरोप लगाएको थियो ।
भानु, आँबुखैरेनी, देवघाटमा पनि मत परिणामले त्यस्तै स्थिति देखाएको भन्दै जिल्ला पार्टी अध्यक्ष हरि कँडेल, जिल्ला इञ्चार्ज केदार सिग्देलसमेतले आशंका व्यक्त गरे ।
विवाद चर्किंदै गएपछि मतगणना स्थगित गरिएको थियो । गणना पुन: थाल्नुअघि नै बन्दीपुरको खसेको मत संख्याबारे प्रश्न उठेको थियो । बन्दीपुर बुथको गणना गर्ने बेला त्यहीँका महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत अनुपस्थित भएपछि केहीले आशंका गरेका थिए ।
मतगणना सुरु गरेर १ सय मत गणना गर्दा देवानले सतप्रतिशत मत प्राप्त गरेपछि धाँधलीको आरोपमा विवाद चर्किंदै गयो । त्यसपछि सूचना प्रमुख निर्वाचन अधिकृत शिवदत्त ढकालले मध्यरात राति १२ बजेतिर अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको सूचना टाँसे ।




