चिसो बढेसँगै भाइरल सङ्क्रमण पनि बढ्दो, बालबालिका, वृद्ध र दीर्घरोगी अधिक जोखिममा

पछिल्ला एक सातामा राजधानी काठमाण्डूस्थिति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएकामा दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेको त्यहाँका चिकित्सकहरूले बताएका छन्।

“खासगरी मङ्सिर लागेपछि यस्तो अवस्था देखिन्छ,” टिचिङ अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले भने।

“प्रदूषण पनि छ, तुवाँलो लागेको छ र घाम पनि पर्याप्त देख्न सकिएको छैन। यस्तोमा खासगरी श्वासप्रश्वासबाट बढ्ने भाइरल सङ्क्रमण र ब्याक्टेरियाको सङ्क्रमण बढेको छ।”

डिसेम्बर लागेपछिको समय हिउँद मानिने भए पनि मनसुनपछिको एक महिनाभित्रै अधिकतम र न्यूनतम दुवै तापक्रम घटिरहेको पाइएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारी बताउँछन्।

“तर तराईमा कडा शीतलहर सुरु हुने वा अझै तापक्रम घट्ने खास अवस्था अझै सुरु नै भएको छ।”

शनिवार राजधानी काठमाण्डूमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सिअर थियो भने शुक्रवार ६.५ डिग्री सेल्सिअस मापन गरिएको थियो।