प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेकाले चुनाव नलडौँ, नयाँलाई छोडिदिऔँ : हरिबोल गजुरेल

 नेपाली कम्युनिस्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देश सभा गर्न लागेको छ । एकता सन्देश सभाको तयारी गर्न नेता हरिबोल गजुरेल लागिपरेका छन् । केन्द्रबाट आर्थिक सहयोग नआएको र पेट्रोलको कुपनसमेत नबाँडी १० हजार कार्यकर्ता उतार्ने गजुरेलको दाबी छ ।

१५ वटाभन्दा बढी घटक मिलेर बनेको यो पार्टीलाई एमाले अध्यक्ष केपी ओलीले ‘वृद्धाश्रम’ भनेका थिए । नेता गजुरेल भने त्यस टिप्पणीको कडा प्रतिवाद गर्छन् । उनलाई हामीले एकता सन्देश सभा, २०८४ को चुनाव लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ, नेता गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंश ।

धनगढी र दाङमा तपाईको पार्टीले एकता सन्देश सभा गरिसकेको छ । विराटनगरको कार्यक्रमको तयारीमा हुनुहुन्छ । कार्यक्रमको मुख्य उद्देश्य के हो ?

यो कार्यक्रमको मुख्य उद्देश्य एकताको सन्देश दिनु हो । कार्यकर्ता र जनतामा एउटा स्पष्ट विचार सम्प्रेषण गर्न, यसको आवश्यकता, महत्त्व र औचित्य प्रस्ट पार्न तथा शक्ति निर्माणका लागि यो अभियान चलाइएको हो । यो विशेष रूपमा संगठन निर्माण र एकताको भाव सम्प्रेषणसँग सम्बन्धित छ ।

विराटनगरको सभाले कस्तो सन्देश देला ?

काठमाडौँबाट निस्कँदा हामी अलि कम आशावादी थियौँ, तर उदयपुर, सुनसरी, झापा र मोरङका साथीहरूसँग भेट्दा र यहाँको उत्साह देख्दा आशा बढेको छ । साथीहरूले ५०० को ठाउँमा १००० मान्छे ल्याउँछु भनिरहनुभएको छ । यो सभाले तल्लो तह (वडा र पालिका) का पदाधिकारीहरूलाई अनिवार्य उपस्थित गराएर प्रशिक्षणको काम पनि गर्नेछ । यो एउटा शक्ति प्रदर्शनमात्र नभएर वैचारिक स्पष्टताको थलो पनि हुनेछ ।

तपाईंहरूको कार्यक्रममा मञ्च व्यवस्थापन भद्रगोल देखिने गरेको छ । १५–२० जना नेताको नाम त पत्रकार सम्मेलनमै लिनुभयो । संयोजक प्रचण्डले अस्ति १८–१९ वटा घटक भन्नुभएको थियो । मञ्चको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

क्रमबद्धताको विषयमा मैले पनि सल्लाह गर्नुपर्नेछ । संयोजक र सहसंयोजक त भइहाल्नुभयो । वरिष्ठ नेता झलनाथ खनाल पनि हुनुहुन्छ । अरूको हकमा के गर्ने ! अल्फाबेटिकल (वर्णानुक्रम) जाने कि अरु कुनै मापदण्ड बनाउने भन्नेमा छलफल गर्नुपर्छ ।

केन्द्रबाट आउने घटकका केन्द्रीय नेताहरूलाई बोल्नका लागि छोटो–छोटो समय दिइनेछ । मञ्चमा सम्बन्धित प्रदेशका घटक दलका कोही हुनुहुन्छ भने उहाँहरू बस्नुहुन्छ । यदि कोही हुनुहुन्न भने प्रदेशबाट प्रतिनिधित्व गराउने कुरा हुन्छ, तर त्यहाँ पुरानो, ठुलो दल वा सानो दल भनेर ‘जुनियर’ वा ‘सिनियर’ को विभेद गरिँदैन ।

कार्यक्रमकै सन्दर्भमा नेता गोपाल किराँतीले असन्तुष्टि व्यक्त गर्दै ‘स्टाटस’ लेख्नुभएको थियो । मञ्च व्यवस्थापन र सम्बोधनमा अलिकति भद्रगोल भयो, ठुला दलको दम्भ देखियो भन्ने गुनासो छ । के पार्टीभित्र व्यवस्थापनको पाटो कमजोर भएको हो ?

हेर्नुस्, जो सबभन्दा ठुलो पार्टी हो, ऊ नै विनम्र हुनुपर्छ । हाम्रोमा त्यो भइरहेको छैन । अस्ति भृकुटीमण्डपमा १९ गते घोषणा सभा हुँदा गोपाल किराँतीलाई पछाडि तेस्रो लहरमा राखिएको रहेछ । म सिनियर भएको नाताले उहाँलाई अगाडि बोलाएर लाइनमा राखेँ । सबै घटक दलका नेताहरूलाई अगाडि राख्नुपर्छ । त्यहाँ ठुलो पार्टीको ठुलो नेता भनेर घचक्क गएर बस्दिने प्रवृत्ति देखियो, जुन विनम्रता भएन । परिवर्तनकारी आन्दोलनको स्प्रिटलाई ध्यान दिनुपर्छ । मुख्य कुरा विचार र आचरण हो । हाम्रो बहस कार्यशैली र आचरणमा मात्रै घुमिरहेको छ, जुन बेकार कुरा हो । विचार क्रान्तिकारी र समाजवादी हुनुपर्‍यो, विचार ठिक भएपछि कार्यशैली स्वतः ठिक हुन्छ ।

विराटनगरको कार्यक्रममा कति मानिस आउने आकलन गर्नुभएको छ ?

हामीले १० हजारको लक्ष्य राखेका छौँ । १० हजारभन्दा बढी पनि हुन सक्छ । दाङ र धनगढीमा जस्तै मानिसहरू आउन सक्छन्, तर हाम्रो मुख्य व्यवस्थापन १० हजारका लागि हो ।

धेरै घटक छन्, नेता धेरै छन् । बोल्ने क्रम र मर्यादाक्रम कसरी मिलाउनुहुन्छ ?

हामीले त्यस्तो पैसा उठाउने वा रसिद काट्ने काम गरेका छैनौँ । पेट्रोलको कुपन बाँड्ने काम पनि भएको छैन । मान्छे जम्मा गर्न गाडीलाई तेल दिने वा बाइकलाई कुपन दिने भन्ने हाम्रोमा छैन । साथीहरूले आ–आफ्नो हिसाबले व्यवस्थापन गरेर आउँदै हुनुहुन्छ ।

क्रमबद्धताको विषयमा मैले पनि सल्लाह गर्नुपर्नेछ । संयोजक र सहसंयोजक त भइहाल्नुभयो । वरिष्ठ नेता झलनाथ खनाल पनि हुनुहुन्छ । अरूको हकमा के गर्ने ! अल्फाबेटिकल (वर्णानुक्रम) जाने कि अरु कुनै मापदण्ड बनाउने भन्नेमा छलफल गर्नुपर्छ । अहिले नै कुनै मापदण्ड बनेको छैन, तर अहिले तीन जना (अध्यक्ष, संयोजक र वरिष्ठ नेता)कोमात्रै प्रमुख हैसियत भएकाले विवाद खासै हुँदैन । अरूको हकमा सल्लाह गरेर मिलाउँछौँ ।

अध्यक्ष प्रचण्डले अघिल्लो कार्यक्रममा ‘धनगढीमा राम्रै पैसा पेलेका थियौँ, यसपालि पैसा पेल्नु परेन’ भन्नुभयो । कोशीमा चाहिँ कति पैसा दिनुभयो ?

अहिले केन्द्रीय कार्यालय नै जलेको (अव्यवस्थित/संसाधनविहीन) अवस्थामा छ । नेताहरूको निवासमै समस्या छ । यस्तो बेलामा पैसाको अपेक्षा कसैले गर्दैन र माग्नु पनि ठिक हुँदैन । अलिअलि भएको पैसा सकिहाल्यो । अहिले उहाँहरूले आफैँ व्यवस्थापन गर्नुस् भनेर भन्नुभएको छ । हामीले तल्लो तहबाटै व्यवस्थापन गरिरहेका छौँ । जहाँ एकदमै गम्भीर समस्या पर्छ, त्यहाँ मात्र सहयोग गर्ने हाम्रो नीति छ ।

कतिपय कार्यक्रममा पेट्रोलको कुपन बाँडेको, गाडीको लागि पैसा दिएको भन्ने सुनिन्छ । यतातिर त्यस्तो कुपन वा चिटको व्यवस्था छ कि छैन ?

हामीले त्यस्तो पैसा उठाउने वा रसिद काट्ने काम गरेका छैनौँ । पेट्रोलको कुपन बाँड्ने काम पनि भएको छैन । मान्छे जम्मा गर्न गाडीलाई तेल दिने वा बाइकलाई कुपन दिने भन्ने हाम्रोमा छैन । साथीहरूले आ–आफ्नो हिसाबले व्यवस्थापन गरेर आउँदै हुनुहुन्छ ।

नेपाली कम्युनिस्ट पार्टी घोषणा भएदेखि आजसम्मको गतिविधिलाई हेर्दा पार्टीको गति कस्तो पाउनुभएको छ ? अलमल छ कि ऊर्जा बढेको छ ?

पछिल्लो समय भीम रावल र राजेन्द्र श्रेष्ठ जस्ता ‘टावरिङ पर्सनालिटी’ हरू जोडिएपछि एउटा ठुलो प्रभाव परेको छ । भीम रावल एक राष्ट्रवादी र इमानदार छवि भएका नेता हुनुहुन्छ, जसले हिजो ओलीसँग टक्कर लिनुभयो । राजेन्द्र श्रेष्ठको पनि लामो पृष्ठभूमि छ । उहाँहरू आउँदा पार्टीको ‘इमेज’ सुध्रिएको छ । अशोक राई पनि आइदिनुभएको भए अझ राम्रो हुन्थ्यो । समग्रमा, अहिले कम्युनिस्ट आन्दोलनको मूल धारा र समाजवादी क्रान्तिको दिशामा पार्टी अगाडि बढिरहेको छ भन्ने स्पष्ट सङ्केत मिलेको छ । म उत्साहित छु ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समय अगाडि तपाईंहरूको मोर्चालाई ‘वृद्धाश्रम’ जस्तो क्लब भन्नुभएको थियो । धेरै पुराना नेताहरूको जमघटले मात्रै आगामी चुनाव जित्न सकिन्छ र ?

यो क्लब होइन, यो राजनीतिक ध्रुवीकरण हो । इतिहास हेर्नुस्, ०४६ सालपछि ध्रुवीकरण हुँदा प्रजातन्त्र आयो । त्यसपछि मदन भण्डारी र मनमोहनको नेतृत्वमा ध्रुवीकरण हुँदा पहिलो कम्युनिस्ट सरकार बन्यो । अहिलेको यो अर्को ध्रुवीकरण हो । यहाँ ‘रूपान्तरण’ मुख्य कुरा हो । जो साथीहरू आउनुभयो, उहाँहरूमा रूपान्तरण देखिएको छ । तर, केपी ओलीजी आफैँ सबभन्दा वृद्ध र रोगी हुनुहुन्छ, उहाँले त ‘म पहिला हट्छु, तिमीहरू किन नहटेको ?’ भन्नुपर्ने हो । उहाँ आफैँ अध्यक्ष हुन मरिहत्ते गर्ने अनि अरूलाई वृद्धाश्रम भन्ने ? यो मिल्ने कुरा होइन ।

प्रसङ्ग बदलौँ । अब देश चुनावतिरै गयो भन्ने बुझ्दा हुन्छ ?

हो, देश चुनावतिरै गइरहेको छ । चुनावबाहेक अर्को विकल्प छैन । संविधानलाई ‘डिरेल’ (बाटो बिराउन) खोजिएको थियो । अब यसलाई ट्रयाकमा ल्याउनुपर्छ । चुनावमार्फत नै संविधान संशोधन र कार्यान्वयनका बाँकी कामहरू टुङ्गो लगाउनुपर्छ । सबै दल बसेर संविधान संशोधन के–केमा गर्ने हो, पहिले नै सहमति गरेर चुनावमा जाँदा राम्रो हुन्छ ।

तपाईं लामो समयदेखि कोशी प्रदेशमै रहेर जिम्मेवारी पूरा गरिरहनु भएको छ । आगामी चुनावमा कोशी प्रदेशको कुनै क्षेत्रबाट उम्मेदवार बन्ने योजना छ कि ?

मैले अस्तिको एउटा अन्तर्वार्तामा पनि भनेको थिएँ— अहिलेका प्रधानमन्त्री, मन्त्री भइसकेका र सांसद भइसकेका पुराना नेताहरू कोही पनि चुनाव नलड्दा राम्रो हुन्छ । यसले जनतामा राम्रो सन्देश जान्छ । नयाँ अनुहारलाई अगाडि सार्नुपर्छ । त्यसो हुने हो भने बहुसङ्ख्यक मानिस खुसी हुन्छन् । हाम्रो मत १० प्रतिशत त्यतिकै बढ्छ । त्यसबारण अब युवाहरूलाई अवसर दिनुपर्छ । तर, यदि पार्टीले मलाई उठ्नै पर्छ भनेर कर गर्‍यो र मेरो आवश्यकता नै देखियो भने मलाई ‘सबभन्दा कमजोर’ ठानिएको निर्वाचन क्षेत्र दिनुस् भनेको छु । जहाँ जित्न गाह्रो छ, त्यहाँ गएर लड्न म तयार छु । ०६४ सालमा पनि मैले त्यसै गरेको थिएँ, तर मेरो पहिलो रोजाइ चुनाव नलड्ने र नयाँलाई अवसर दिने नै हो ।

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिचाहिँ कति सदस्य हुन्छ ? ४ हजारसम्म बनाउने कुरा आइरहेको छ नि ?

एकता प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । केन्द्रीय समिति करिब ६०१ सदस्यीय हुने कुरा छ । सचिवालय गठन गर्न बाँकी छ । ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएको छ । त्यसअघि राष्ट्रिय भेलाहरू गरेर कार्यकर्ता परिचालन गर्ने योजना छ ।