राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले विवेकशील साझा पार्टीद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समितिको विशेष बैठकले मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
यस्तै असल शासन, सुशासन र समुन्नति प्रवद्र्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय गरेको छ।
बैठक पछि झाले भनेका छन् ‘असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यका पृथक् विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको उच्च संवाद समितिलाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरूप पार्टी सचिवालयले गठन गरेको संयन्त्र सङ्घीय नेतृत्व मञ्च अनुमोदित भएको छ।’




