प्रतिनिधिसभा निर्वाचन : चुनावका लागि एमालेलाई मनाउने प्रयासमा प्रधानमन्त्री

 प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सफल रूपमा सम्पन्न गराउन एमालेको साथ खोजेकी छिन् । बिहीबार एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिएर अगाडि बढ्न अनुरोध गरेकी हुन् ।

तर, एमाले नेताहरूले संसद् विघटनविरुद्ध परेको मुद्दा साथै निर्वाचन गर्न निष्पक्षता र निर्भयताको वातावरण नबनेको जवाफ दिएका छन् ।

सञ्चारमन्त्री जगदीश खरेलले एमालेले चुनाव प्रयोजनका लागि दल दर्ता गरेकोमा सकारात्मक लिँदै प्रधानमन्त्रीले भाग लिन आग्रह गरेको बताए । खरेलका अनुसार प्रधानमन्त्री कार्कीले चुनाव निष्पक्ष स्वतन्त्र र धाँधलीरहित ढंगबाट अगाडि बढाउने, सम्पूर्ण दलले भाग लिन सक्ने, जनताले भोट हाल्न सक्ने गरी कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी थिइन् । हामी वातावरण बनाउँछौँ । तपाईंहरू चुनावमा अगाडि बढ्नुस् । चुनावको विकल्प नरहेको प्रधानमन्मत्री कार्कीको भनाई रहेकोम छ ।

जवाफमा एमाले नेताहरूले आफ्नो पार्टी जनमतबाट टाढा नभाग्ने, चुनावमा जान रमाउने पार्टी भएको कारणले चुनावको विरोध नगर्ने र यदि सरकारले चुनाव गरेको खण्डमा भाग लिने कुरा राखेको छन् । एमाले नेताहरूले निर्भय र निष्पक्षका साथ सरकारले चुनाव गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेको र चुनावका लागि एमाले बाधक बन्दैन भन्ने स्पष्ट संकेत दिएको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।