गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार (पेस्तोल) लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने २५ वर्षीय निकेश विक, मकवानपुर बागमती गाउँपालिका–७ घर भई काठमाडौँ बागबजार बस्ने २५ वर्षीय सुरज विक तथा बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई हाल काठमाडौँ–२८ भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो ।”
पक्राउ परेकाहरूबाट प्रहरीले सिएफ ९८–९००१०४००८२३६ नम्बरको पेस्तोल एक थान र सोही पेस्तोलको म्याग्जिन एक थान तथा टाइप ५४–५५०१११३३ नम्बरको पेस्तोल एक थान बरामद गरेको जनाइएको छ ।
पक्राउ परेका तीनै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको सूचना अधिकारी आचार्यले बताए ।




