प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताएकी छन् ।
बुधवारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्य सचिव अर्यालको विदाईका लागि मंगलवार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उनको भनाइ छ ।
उनले अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिवद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामति सेवामा महत्वपूर्ण छाप छोडेको उल्लेख गरिन् ।
उनले भनिन् ‘उहाँ अत्यन्त मेहेनती र परिश्रमी हुनुहुन्छ । लक्ष्य प्राप्तिका लागि उहाँले गरेको प्रयास अनुकरणीय छ । निजामति सेवाको असल अनि कुशल प्रसाशकको रुपमा आफ्नो छाप छोड्नुभएको छ । मैले पनि कुनैबेला निकै लगनशील भएर काम गरेको छु । मुख्यसचिवज्यूले आफूलाई अनुशासित बनाउनुभयो । उहाँले जीवनभर काम गर्नुभयो अहिले पनि उहाँ कामै गर्न नसक्ने अवस्थामा पुग्नुभएको छैन । उहाँसँग अझै २० वर्ष काम गर्नसक्ने क्षमता छ ।’
प्रधानमन्त्री कार्कीले अर्यालसँग अझै २० काम गर्नसक्ने क्षमता रहेको समेत उल्लेख गरिन् । उनले अर्यालसँग काम गर्दा आफ्नै भाईजस्तो महशुस गरेको कारण कार्यसम्पादनमा सहजता भएको पनि उल्लेख गरिन् ।





