जेन-जी पुस्तालाई प्रधानमन्त्री सुशीला कार्कीले नभेटी हिँडेपछि सिंहदरबार परिसरमा तनाव भएको छ ।
जेन-जीका विभिन्न समूहले प्रधानमन्त्रीलाई भेटेर आफ्ना माग र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका थिए । सोही कामका लागि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका जेन-जी समूहलाई प्रधानमन्त्रीले समय नदिएपछि तनाव भएको हो ।
आफ्ना माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री तर्किएर हिँडेको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । प्रधानमन्त्रीले ज्ञापनपत्र नबुझेपछि उनीहरूले भित्तामै टालेका थिए ।
जेन-जी समूह आक्रोशित बन्न थालेपछि सिंहदरबार परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । जेन-जी समूहका धेरै जना सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्य ढोकामै पुगेका थिए ।
फरक-फरक समूहका जेन-जी प्रतिनिधि क्रमशः कार्यालयको ढोकामा भेला हुँदै गएपछि त्यहाँ भीड थप बढेको थियो। भीडको चाप बढेपछि सुरक्षाकर्मीको संख्या पनि अतिरिक्त रूपमा परिचालन गरिएको छ।
उनीहरूले प्रधानमन्त्रीले समय नदिएसम्म ढोकैमा बस्ने अडान पनि लिएका थिए । प्रधानमन्त्री कार्यालय अघि पुगेका उनीहरूले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको राजीनामा माग गर्नुका साथै श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै नातेदारलाई नियुक्त गरेको आरोप लगाएका छन् ।





