काठमाडौँ प्रहरी परिसरले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ। परिसरले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो।
परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार दर्ता भएका उजुरीमध्ये सरकारी कार्यालयसँग सम्बन्धित ६६ वटा, व्यक्तिगत २२ वटा र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा काठमाडौँ जिल्लाभित्र अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ, जसमध्ये सात जनाको पहिचान हुन नसकेको र उनीहरूको पहिचानका लागि डीएनए परीक्षणका लागि पठाइएको उनले बताए। एसपी भट्टराईले ७ वटा उजुरीहरू तामेलीमा राखिएको र आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको जानकारी दिए।
उक्त घटनासम्बन्धी प्रहरीले हालसम्म कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता गरेको छ। दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ। तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ। न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन्। पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको जानकारी उनले दिए।
एसपी भट्टराईले जेन-जी आन्दोलनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए। पुनः पक्राउ गरिएका ती थुनुवाहरू ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उनको भनाइ छ। बाँकी १५ जना थुनुवाहरू समेत प्रहरीको सम्पर्कमा रहेको जानकारी उनले दिए।




