जेनजीकाे आडमा देशभर अराजकता फैलाइँदैछ : महेश बस्नेत

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा देशभर अराजकता फैलाइएको बताएका छन् ।

आइतबार विराटनगरमा आफू चढेको गाडीमा रातो मसी छ्याप्न खोजिएपछि उनले वास्तविक जेनजीको यसमा भूमिका नरहेको बरू उनीहरूका आडमा अराजकता फैलाइएको दाबी गरेका हुन् ।

‘जेनजीको आडमा अराजकता फैलाउने काम भइरहेको छ, ओरिजिनल जेनजीको यसमा कुनै भूमिका छैन,’ उनले भने, ‘जेनजीको आडमा अराजक गतिविधि देशभरि बढाएर, जे गर्न खोजिँदेछ, त्यो राम्रो भएन ।’

लोकतान्त्रिक पद्धतिलाई सबैले मान्नुपर्ने भन्दै उनले लोकतान्त्रिक प्रक्रियालाई सरकारले संरक्षण गर्नुपर्ने बताए । यद्यपि आज प्रहरीको भूमिका राम्रो रहेको र सहजीकरण गरेको उनले बताए ।

उनी राष्ट्रिय युवा संघको प्रदेशस्तरीय जागरण सभामा सहभागी हुन इटहरी जाँदै थिए । विराटनगर विमानस्थलबाट बाहिरिएर कार्यक्रम स्थलमा जाने क्रममा उनीमाथि मसी छ्याप्न खोजिएको थियो । त्यसपछि प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।