भिरमा अड्किएको मुसिकोट नगरपालिका–१ पौदीअमराईको बगाहाका ४७ वर्षीय बोमबहादुर खत्रीको शव सशस्त्र प्रहरीले निकालेको छ । एक सातादेखि वेपत्ता खत्री शुक्रबार मृत फेला पर्नु भएको थियो ।
स्थानीयले भिरमा अड्किएको अवस्थामा खत्रीको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । तर बडिगाड खोला र भिर भएका कारण शव निकाल्न नसकेपछि शनिबारका सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदिप प्रसाईंसहितको टोली घटना स्थल पुगेको थियो ।
करिब एक घण्टा लगाएर शव निकालिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रर्साइले जानकारी दिनुभयो । घरमा एक्लै बस्दै आउनु भएका खत्री कात्तिक २८ गतेबाट हराउनु भएको थियो । कपडाका आधारमा व्यक्ति पहिचान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।
शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भएको सारुले बताउनुभयो ।





