नेकपा एमालेसँग मधेस प्रदेशमा सत्ताका सबै प्रमुख पदहरु थिए । प्रदेश प्रमुखमा एमालेकै सिफारिसमा सुमित्रा भण्डारी थिइन् भने सभामुखमा रामचन्द्र मण्डल थिए । मधेस राजनीतिको पछिल्लो घटनाक्रमपछि यी दुवै पद एमालेले गुमाइसकेको छ ।
अहिले एमालेका सरोजकुमार यादव मुख्यमन्त्री छन्, तर उनको पनि पद जाने लगभग निश्चित छ । यसरी हेर्दा मधेसमा एमाले पूरै एक्लिएको छ । एमालेका नेताहरुले पनि यो कुराको महसुस गर्न थालेका छन् । बिहीबार बसेको एमाले सचिवालय बैठकमा यसबारे छलफल पनि भएको थियो ।
हुन त यसअघिबाटै मधेस र एमालेबिच खासै राम्रो सम्बन्ध बनिरहेको पाइँदैन । यद्यपि मधेस प्रदेशमा संघीय र प्रदेश दुवै निर्वाचनमा एमालेको उपस्थिति राम्रै हुने गरेको छ । मधेस आन्दोलनका बेला पनि एमालेको चर्को आलोचना भएको थियो, तर पार्टीलाई ठुलो असर पारेको थिएन । अहिले त मधेस प्रदेशमा एमालेले सबै मुख्य पदहरु गुमाएको छ । यसरी एकैपटक सबै कुरा गुम्नुलाई पार्टीले गम्भीर रुपमा लिएको एमालेका एक नेताले बताए ।
‘मधेसमा भएका गतिविधि पार्टी नियन्त्रणमा थिएनन् । मुख्यमन्त्री कसले नियुक्त गर्न भन्यो, सभामुख रामचन्द्र मण्डललाई कसले चलाइदियो, पार्टी हाइकमाण्डलाई केही जानकारी थिएन,’ ती नेताको दाबी छ ।
मधेसमा पार्टीको क्षति नियन्त्रण गर्न तत्काल मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिन लगाउनुपर्ने विषय पनि पार्टीमा उठ्न थालेको ती नेता बताउँछन् । ‘मधेसमा सबभन्दा ठुलो पार्टी रहेको एमालेले चुनावकै मुखमा यति ठुलो क्षति व्यहोर्नु भनेको सानोतिनो कुरा होइन । पार्टीमाथि प्रहार एउटा कुरा हो, तर समयमा बुद्धि नपुर्याएर चालिएको कदमले पार्टीलाई क्षति भएको हो,’ ती नेता भन्छन् ।
जनकपुरका एक एमाले नेता लीलानाथ श्रेष्ठ र रघुवीर महासेठबिच वर्चस्वको लडाइँले मधेसमा यस्तो भइरहेको दाबी गर्छन् । ‘यहाँ (मधेस) दुई जनाको राजनीतिक टक्करका कारण यो सबै भएको हो । लीलानाथ श्रेष्ठ र रघुवीर महासेठबिच मधेसमा वर्चस्वको लडाइँ छ, लीलानाथजीले आफ्नो तरिकाले सबै ह्याण्डल गर्नुभयो, त्यही भएर यो भएको हो,’ ती नेता भन्छन् । जनकपुरबाट चुनाव जितेका रघुवीर महासेठले मधेस प्रदेशमा भइरहेको घटनाबारेमा हालसम्म केही प्रतिक्रिया नदिनु र लीलानाथ श्रेष्ठ सक्रिय रहनुले धेरै कुराको संकेत गर्ने ती नेता बताउँछन् ।
एमाले सचिव योगेश भट्टराईले मधेसमा किन र कसका कारणले यो सबै भएको भन्दै सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन् । ‘आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्,’ उनले लेखेका छन्, ‘प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ ।’
भट्टराईले मधेसमा भएको घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । ‘मधेसमा स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड़ गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्छ,’ भट्टराईले भनेका छन् ।
पार्टीको जनाधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्ने आग्रह पनि उनले गरेका छन् । सचिव भट्टराईले मधेसमा नेतृत्व गर्ने नेताहरुबाट त्रुटि भएको कुरा स्वीकार्दै नयाँ जिम्मेवारीका साथ जानुपर्नेमा जोड दिएका छन् ।
अर्का नेता उमाशंकर अरगरियाले पार्टीबाट केही त्रुटि भएको भए त्यसलाई सुधार गरेर जानुपर्ने भन्दै एमाले ‘शक्तिशाली’ पार्टी भएका कारण कमजोरहरु मिलेर एकसाथ प्रहार गरेको जिकिर गरे । ‘मुख्यमन्त्री नियुक्तिलगायतका विषयमा विधि तथा प्रक्रिया मिलेको छैन भने त्यसको व्याख्या गर्ने काम अदालतले गरिरहेको छ, पूर्ण निर्णय आउन बाँकी छ । तर त्यसकै नाममा एमालेमाथि हमला गर्नु जायज होइन,’ अरगरियाले भने ।





