कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्ने

नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर आइतबार दल दर्ता गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

‘शनिबार केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौँ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘आइतबार निर्वाचन आयोगमा गएर दल दर्ता गर्छौँ ।’

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पार्टीको १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तय भएको निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद छ । त्यही विवादका कारण पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक राष्ट्रियसभामा भाग लिन दल दर्ता गर्ने निर्णय गर्नका लागि पनि शनिबार बस्नेछ । ‘निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयका लागि भए पनि शनिबार बैठक बस्छ,’ विश्वकर्माले भने ।

आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर ७ गतेभित्र दल दर्ता गर्ने समय निर्धारण गरेको छ । आयोगले कात्तिक २८ गते सूचना निकालेर आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि मंसिर ७ गते कार्यालय समयभित्र दल दर्ता कागजात बुझाउन भनेको थियो ।

दल दर्ताका लागि केन्द्रीय कार्यसमितिबाट दल दर्ता गर्ने निर्णय भएको माइन्युटको प्रतिलिपि आवश्यक पर्छ ।