एमालेको र्‍यालीरोक्न  माइतीघर पुगे जेनजी घाइते

नेकपा एमालेले आज नेशनल भोलेन्टियर फोर्सको नाममा आज नयाँ संगठन घोषणा गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेका हुन्।

तीनकुनेबाट एकालेको र्‍याली माइतीघरतर्फ निस्किसकेको छ । तर यसैबीच जेनजी समूहका घाइते भन्दै एउटा समूह माइतीघर मण्डलमा धर्नामा बसेको छ । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताइरहेका छन् । अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

तर एमालेको र्‍यालीबीच जेनजी सडकमा उत्रिएपछि तनावको सम्भावना बढेको हो । उनीहरूले एमालेको गतिविधिप्रति आक्रोश व्यक्त गर्दै नाराबाजी गरिरहेका छन्। सम्भावित मुडभेडलाई ध्यानमा राख्दै माइतीघर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ।

यसअघि बाराको सिमरामा नेकपा एमालेका नेता शंकर पोखरेल र महेश बस्नेतको कार्यक्रमलाई लक्षित गरी जेनजी युवाहरूले अवरोध गर्ने प्रयास गरेपछि झडप भएको थियो। उक्त घटनाले सिमरा क्षेत्रमा तनाव बढ्नुका साथै कर्फ्युसमेत जारी भएको थियो। एमालेका दुई जना वडाध्यक्ष पक्राउसमेत परेका छन् । तर जेनजीले आफूहरूले उजुरी दिएका सबैलाई पक्राउ नगरिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।