बारा घटनाप्रति प्रचण्ड चिन्तित: स्थिति नियन्त्रणमा लिन संयमता अपनाउन आग्रह

पाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।  

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता हुनु स्वाभाविक हो भन्दै उनले सिमाराको घटनालाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको बताए ।  

‘राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु’, उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

यसैगरी घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सम्बद्ध सबै पक्षसँग उनले आग्रह गरेका छन् । मुलुकमा विकसित घटनाक्रम र परिस्थितिलाई सामान्य बनाउने सन्दर्भमा आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न स्थानीय पार्टी समितिलाई संयोजक दाहालले निर्देशन दिए ।