देउवा, प्रचण्ड र खड्काको घरको खरानीमा ठूलो परिमाणमा पैसाको अवशेष भेटियो

 सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता दीपक खड्काको जलेको घरको थुप्रोमा ठूलो परिमाणको पैसाको खरानीसहितको अवशेष भेटिएको जनाएको छ । यद्यपि, सो थुप्रोमा के कति पैसा थियो भन्नेमा निक्र्यौल निकाल्न कठिन भएको विभागले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा उनीहरूको घर जलेर ध्वस्त भएको थियो । त्यतिबेला प्रचण्ड, देउवा र खड्काको घरमा पैसाका चाङ रहेको र ती पैसाहरू जलेका दृश्यहरू सार्वजनिक भएका थिए । त्यसलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, प्रचण्ड र खड्काको जलेको घरमा रहेको खरानीका थुप्राहरूको मुचुल्कासहित बरामद गरेर अनुसन्धान थालेको थियो ।

विभागले अनुसन्धानका क्रममा उनीहरूको घरको खरानीमा पैसा भए नभएको पुष्टि गराउन आवश्यक जाँचका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फरेन्सिक ल्याबमा पठाएको थियो ।

विभाग स्रोतका अनुसार सो फरेन्सिक ल्याबको रिपोर्टले खरानीमा प्रशस्त मात्रामा पैसाको अवशेष रहेको पुष्टि गरेको छ । तर पैसा सबै जलेकाले के कति पैसा थियो भन्ने बारेमा निक्र्यौल गर्न भने कठिन भएको त्यससम्बन्धी अनुसन्धान गरिरहेका संयुक्त अनुसन्धान टोलीले जनाएको छ । शीर्ष नेताको घरमा जलेका पैसा सम्बन्धमा विभागको नेतृत्वमा राष्ट्र बैंक तथा सीआईबीका प्रतिनिधिसमेत रहेको संयुक्त अनुसन्धान टोलीले गहन र विस्तृत अनुसन्धान गरिरहेको छ ।

‘फरेन्सिक ल्याबको प्रतिवेदनका आधारमा देउवा, प्रचण्ड र खड्काको घरमा उल्लेख्य पैसा रहेको हुन सक्ने अनुमान गर्न सकिने आधार देखिए पनि पैसा ठ्याक्कै यति नै थियो भनेर भन्न सकिने अवस्था रहेन, त्यसैले अनुसन्धान प्रक्रिया सकसपूर्ण हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि, धेरै पैसा रहेको पाइएकाले थप प्रमाणहरू जुटाएर उहाँहरूसँग बयान लिनुपर्ने र बयानका क्रममा केही खुल्न सक्ने आशा अनुसन्धान अधिकृतहरूको छ । फरेन्सिक ल्याबको रिपोर्टका बारेमा जानकारी गराउँदै उनीहरूसँग बयान लिँदा पैसाका बारेमा विस्तृत जानकारी आउन सक्ने सम्भावनाका बारेमा अनुसन्धान अधिकृतहरूले छलफल गरिरहेको विभाग स्रोतले जनाएको छ ।

यद्यपि, थप प्रमाणहरू संकलन गर्न केही समय लाग्न सक्ने भएकाले उनीहरूसँग बयान लिन पनि केही ढिलाइ हुने र अन्तिम चरणमा मात्रै बयान लिइने विभागले जनाएको छ । फरेन्सिक ल्याबको रिपोर्टले त खरानीको थुप्रोमा पैसा रहेको तथ्य औंल्याएपनि के कति पैसा थियो भन्ने बारेमा उनीहरूसँग बयान लिँदा पनि यति नै रकम थियो भन्ने विषय खुल्न कठिन भएको विभागले जनाएको छ ।

बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपियाँ (हजार/पाँच सयका नोट) का जलेका टुक्राहरू भेटिएपछि विभागले मुचुल्का गरेको थियो । जेन–जी घटनापछि देउवाका घरमा गएका केही व्यक्तिहरूले देउवाको घरमा पैसा राख्ने ट्यांकी नै रहेको बताएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालको घरमा पनि पैसा राख्न प्रयोग गरिएका सेफहरू फुटाइएको र एउटा कोठमा चाङका चाङ रहेको पैसा खरानी भएको भन्दै भिडियोहरू सार्वजनिक भएको थियो ।