नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै रौतहटका चारवटा नगरपालिकाले आज शोक बिदा दिएका छन् ।
राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको जनाएका छन् ।
नगरपालिकाहरूले दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आलमको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा शुक्रबार राति निधन भएको थियो ।
उनी लामो समयदेखि पार्टीका प्रभावशाली नेतामध्ये एक मानिन्थे ।
नगरपालिकाहरूले सार्वजनिक सूचना मार्फत आइतबार आफ्ना कार्यालय र मातहतका निकायहरूमा कार्य स्थगन गरी शोक बिदा मनाइएको जानकारी दिएका छन् ।





