राजदूतावासले मंगलबार भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो कार्यक्रमका लागि अभिमुखीकरण सत्र आयोजना गरेको छ। आगामी डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुने यो कार्यक्रमले दुवै देशका स्टार्टअप इकोसिस्टमबीच सहकार्य बढाउने
सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल प्रमुख अतिथि थिइन्। उनले यो पहलको प्रशंसा गर्दै नेपालका स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय अवसर प्रदान गर्ने बताइन्। दूतावास परिसरमा भएको कार्यक्रममा स्टार्टअपहरू, सरकारी विभागहरू, वाणिज्य संघहरू, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाहरूका करिब १०० सहभागी उपस्थित थिए। वीरगंज तथा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका ६० जना भर्चुअल रूपमा जोडिए।
आईआईटी मद्रासका प्रो. गौरव रैना (इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआईका प्रमुख) ले अनलाइनबाट आईआईटी मद्रास प्रवर्तकको इन्क्यूबेसन इकोसिस्टमबारे जानकारी दिए। प्रवर्तकले हालसम्म ४६ स्टार्टअप इन्क्यूबेट गरेको छ, जसमध्ये १४ ले प्रविधि व्यावसायीकरण गरेका छन्।
कार्यक्रममा नेपालका स्टार्टअप प्रतिनिधिहरूलाई आईआईटी मद्रासमा ८ हप्ताको पूर्ण वित्तीय सहयोगयुक्त प्रशिक्षण, परामर्श र इन्टर्नशिप प्रदान गरिनेछ। छनोट आवेदन मूल्याङ्कन र अन्तर्वार्ताबाट हुनेछ। आवेदन मंसिर २९ (नोभेम्बर १५) सम्म खुला छ। इच्छुकले https://shorturl.at/Au8zh मा अनलाइन फाराम भर्न सक्नेछन्।
सोही दिन पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र भएको थियो, जसमा ७० विद्यार्थी सहभागी थिए।




