विशेष महाधिवेशन नगर्न सिंगापुरबाट देउवाको निर्देशन

facebook sharing button
twitter sharing button
messenger sharing button

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विशेष महाधिवेशन नगर्न र नियमित महाधिवेशनको वातावरण निर्माण गर्न संस्थापन पक्षीय नेताहरूलाई निर्देशन दिएका छन्।

सिंगापुरमा उपचाररत देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठोरसहितका नेताहरूलाई टेलिफोनमार्फत यो निर्देशन दिएका हुन्।

विशेष महाधिवेशनको माग गर्दै २,४८८ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहितको पत्र कार्यवाहक सभापति खड्कालाई बुझाएका थिए। तर, देउवाले त्यसको कार्यान्वयन नगरी नियमित महाधिवेशनमा केन्द्रित हुन नेताहरूलाई भनेका छन्।

गत आइतबारको केन्द्रीय कार्यसमिति बैठक नियमित महाधिवेशनको मिति निर्धारणमा विवाद भएपछि स्थगित भएको थियो। त्यसपछि बसेको संस्थापन पक्षीय अनौपचारिक बैठकमा खड्काले देउवाको निर्देशन सुनाएका थिए।

बैठकमा सहभागी एक नेताले भने, “कार्यवाहक सभापति खड्काले सभापतिज्यूको निर्देशन छ— विशेष महाधिवेशन नगर्ने, नियमित महाधिवेशनमा सहमतिको प्रयास गरौँ भन्नुभयो।” देउवाले आफू निकटका अन्य पदाधिकारीलाई पनि विशेष महाधिवेशनले पार्टीलाई हानि पुग्ने भन्दै त्यसतर्फ नलैजान आग्रह गरेको बताइएको छ ।

यता, डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। दुवै पक्षबीच कुरा नमिलेपछि महामन्त्री शर्माले पुस १६–१९ गते महाधिवेशन गर्ने वैकल्पिक प्रस्ताव अघि सारेका छन्। तर, यसमा पनि सहमति जुट्न सकेको छैन।