नागरिकता प्राप्त गर्ने र मतदान गर्ने उमेर १६ वर्ष कायम गर्नुपर्छ : डा.भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकता प्राप्त गर्ने र मतदान गर्ने उमेर हद एकै हुनुपर्ने बताएका छन्।    

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले सरकार र निर्वाचन आयोगले उपयुक्त बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र मतदान गर्ने उमेर १६ वर्ष कायम गर्नुपर्ने बताएका हुन्।

जेनजी आन्दोलनपछि आगामी फागुन १९ मा हुने निर्वाचनका लागि उनले उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष कायम गर्न आवश्यक रहेको भन्दै यदि यसो नगरिएमा पछिल्लो समयका युगान्तकारी आन्दोलनका अगुवा जेनजी  युवाहरूका लागि आसन्न निर्वाचन जसको बिहा उसैलाई नजिक नल्याऊ भन्ने लोकोक्ति हुने बताए।

भट्टराईले युवा पुस्ताले निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु पर्ने र मतदाता सूचीमा देश विदेशमा रहेका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न अनुरोध गर्दै नेपाली राजनीतिमा पुरानै चक्र दोहोरिन नदिन आग्रह गरेका छन्।