एमालेमा फर्किँदैनौँ, नयाँ पार्टी गठन गर्छौँ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको छ ।

२०७८ भदौ ९ गते एमालेबाट अलग भएर बनेको यो पार्टीको केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरे पनि वरिष्ठ नेता झलनाथ खनालसहित करिब एक सयभन्दा बढी नेताले असहमति जनाएका छन् ।

खनालले एकताको विरोध गर्दै माधवकुमार नेपालले पार्टीलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप लगाए र नयाँ क्रान्तिकारी पार्टी गठनको घोषणा गरे ।

उनका अनुसार माधवजीले माओवादीमा गएपछि पार्टी दुई टुक्रा भएको हो ।

‘हामीले नयाँ क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी पार्टी बनाउँछौं । माओवादीसँग अहिले एकताको समय होइन, पहिले पार्टीको शुद्धीकरण आवश्यक छ,’ उनले भने ।

खनालले आफ्‌नो नेतृत्वमा पार्टी पुनर्गठन गर्ने दाबी गरेका छन् ।

एमालेमा फर्कने सम्भावनाबारे प्रश्न गर्दा खनालले भने, ‘हामी नयाँ पार्टी बनाउँछौं, एमालेमा फर्किँदैनौं ।’

पार्टीले पहिले आफ्नो नीतिगत विचलन र विकृति सच्याएर मात्रै वास्तविक वाम एकता सम्भव हुने उनले बताए ।