गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा एक हृदयविदारक घटना घटेको छ। पारिवारिक विवादले उग्र रूप लिँदा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते बनाएका छन्।
प्रहरीका अनुसार, २३ वर्षीय भोटबहादुर बिकले हिजो साँझ धारिलो हतियार (हँसिया) र काठको मुंग्रो प्रहार गरी करिब ५० वर्षीय बुवा धनबहादुर बिकको घटनास्थलमै ज्यान लिएका हुन्। यसैगरी, उनकी ४८ वर्षीया आमा दिलमाया बिकमाथि पनि आक्रमण गर्दा उनी सख्त घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार, घाइते दिलमायालाई तत्काल जिल्ला अस्पताल तम्घास लगिए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थलमा पुगेको छ।
प्रहरीले आक्रमणकारी छोरा भोटबहादुर बिकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा भोटबहादुरको मानसिक सन्तुलन ठीक नभएको खुल्न आएको प्रहरीले जनाएको छ।
घटनास्थलमा मृतक धनबहादुर बिकको शवको मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। यो घटनाले म्याल गाउँमा गहिरो शोक र सन्त्रास छाएको छ।





