देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपात हुने

जल तथा मौसम विज्ञान विभागले भोलि कात्तिक १३ गतेदेखि देशका विभिन्न स्थानमा भारी हिमपात र भारी वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कताका लागि अनुरोध गरेको छ । 

विभागले बुधबार एक सूचना जारी गर्दै बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ ।

यसैगरी कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । 

यसको प्रभाव सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्न सक्ने सम्भावना रहेकाले प्राधिकरणले अनावश्यक यात्रा नगर्न, डुबान हुनसक्ने बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे जानकारी लिन, नदी किनाराका बासिन्दालाई सतर्क रहन, धान तथा अन्य बाली नकाट्न वा काटेको भए तत्काल भित्र्याउन अनुरोध गरेको छ । 

साथै प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिलाई आवश्यकता अनुसार सवारी आवागमनबारे निर्णय गर्न, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा पूर्वतयारी र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क रहन आह्वान गरिएको छ । 

विभागले लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लाहरूमा मौसम सम्बन्धी जानकारीसहित अद्यावधिक भएर बस्न समेत आग्रह गरेको छ।