मानव अधिकार आयोगद्वारा दुर्गा प्रसाईँसँग छलफल

 राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग आगामी आन्दोलनका विषयमा छलफल गरेको छ ।

बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीसँग प्रसाईँबिच भेटवार्ता भएको हो । प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेपछि आयोगले त्यसबारे चासो राख्दै छलफल गरेको हो ।

छलफलपछि प्रसाईँले आन्दोलनको स्वरूपबारे जानकारी दिँदै भने, हाम्रो आन्दोलन बन्दुक, बारुद लिएर आउने, सिंहदरबारमा आगो लगाउने, नागरिकका घर जलाउने वा व्यवसायमा तोडफोड गर्ने होइन । यो आन्दोलन अहिंसात्मक र व्यवस्थापरिवर्तनको उद्देश्यका लागि हो ।’

उनका अनुसार पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्म सम्पूर्ण देश बन्द गरिने तयारी भइरहेको छ । उनले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू अग्रिम भण्डारण गर्न आग्रह गरे ।

त्यस्तै, प्रसाईँले आन्दोलनका दिन निजामती कर्मचारी र सुरक्षाकर्मीलाई पनि ‘घरमै बिदा बस्न’ अनुरोध गरेका छन् । आन्दोलनको योजनाबारे आयोगलाई अग्रिम जानकारी दिइसकेको उनले बताए ।