गाजामा इजरायली आक्रमण : बालबालिकासहित कम्तीमा ६० जनाको मृ*त्यु

  गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको मृत्यु भएको छ । मारिनेमा बालबालिका र महिलासहितका सर्वसाधारण रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बुधबार बिहानसम्म जारी आक्रमणपछि स्थानीय अस्पतालहरूमा घाइतेहरूको ठूलो भीड लागेको छ । अस्पताल स्रोतका अनुसार यो आक्रमण यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती बनेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै गाजामा “शक्तिशाली आक्रमण” गर्न सेनालाई निर्देशन दिएका थिए । सो निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा तीन महिला र छ बालबालिकासहित कम्तीमा १० जनाको शव ल्याइएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्‍याइएको बताइएको छ, जसमा १३ बालबालिका र दुई महिला रहेका थिए । त्यस्तै मध्य गाजाको अल-अवदा अस्पतालमा ३० वटा शव ल्याइएको छ, जसमा १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ ।

घाइतेहरूको चापका कारण अस्पतालहरूमा उपचारका साधन र औषधि अभाव भएको चिकित्सकहरूले बताएका छन् ।

इजरायली अधिकारीका अनुसार दक्षिणी गाजामा सेनामाथि गोली प्रहार भएपछि नेतान्याहुले आक्रमणको आदेश दिएका हुन् । यो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको बताइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गरेका छन् । तर विश्लेषकहरूका अनुसार गाजामा भइरहेका निरन्तर आक्रमण र तीव्र हताहतीका घटनाले युद्धविराम पुनः जोखिममा परेको छ ।

स्थानीय अधिकारीहरूले आक्रमण रोकिएन भने मानवीय सकट झनै भयावह बन्ने चेतावनी दिएका छन्, किनभने अझै पनि दर्जनौँ परिवार भग्नावशेषभित्र बेपत्ता रहेका छन् ।