प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दर पक्ष : भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित भएर मुलुकमा सुशासन कायम गर्नु रहेको बताएका छन् । 

मंगलबार विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल दल दर्ता कार्यक्रममा बोल्दै भण्डारीले प्रतिस्पर्धात्मक प्रणालीमा प्रवेश गरेकोमा स्वागत गरे ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन वा स्वच्छ प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित भएर मुलुकमा सुशासन कायम गर्ने पद्धतिलाई मानिन्छ । कानुनको दायरा भित्र रहेर प्रतिस्पर्धा गर्न दल दर्ता गर्न आउनुभयो यहाँलाई स्वागत छ’, उनले भने ।

फागुन २१ गते घोषणा भएको निर्वाचन आवधिक नभई परिस्थितिले उब्जिएको निर्वाचन भएकाले अलिकति त्रुटि भए पनि बिथोलिन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए ।

भण्डारीले आयोगमा अहिलेसम्म दर्ता गरेको कम्युनिस्ट पार्टीहरूमा नेपाल कम्युनिस्ट पार्टीपछि केही रहने भए पनि कम्युनिस्ट पार्टी नेपाल दर्ता पहिलो हुनसक्ने बताए ।

‘अहिलेसम्म दर्ता हुँदै आएको पार्टीमा नेपाल कम्युनिस्ट पार्टी, क, ख, ग केही हुन्थ्यो । यो ठ्याक्कै कम्युनिस्ट पार्टी नेपाल भनेर आएको सायद पहिलो हुनसक्छ’, उनले भने ।