पाँचथरमा निरन्तर वर्षाका कारण गएको पहिरोमा परेर दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिबार राति परेको तीव्र वर्षापछि विभिन्न स्थानमा पहिरो गएर जनधनको क्षति भएको हो।
प्रहरीका अनुसार, घर माथिबाट आएको पहिरोले घर पुर्दा तुम्वेवा गाउँपालिका–४ की ७९ वर्षीया कान्छीमाया शेर्मा र फाल्गुनन्द गाउँपालिका–३ का १७ वर्षीय मिसेक नेम्वाङको ज्यान गएको हो। प्रहरी निरीक्षक तथा पाँचथरका प्रवक्ता रुपेश तामाङका अनुसार शेर्माको घटनास्थलमै मृत्यु भएको थियो भने नेम्वाङ निबु खोलाले बगाउँदा ज्यान गएको हो।
त्यस्तै, पहिरोमा परेर मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया काकी, फाल्गुनन्द गाउँपालिका–५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे घाइते भएका छन्।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकहरूको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। लगातार वर्षाका कारण जिल्लाका अन्य ठाउँहरूमा समेत पहिरो र बाढीको जोखिम बढेको प्रहरीले सतर्क रहन आग्रह गरेको छ।