नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी  शर्मा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सन्देश शर्मा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो।

शर्मा दाङको तुलसीपुर–१६ का स्थायी बासिन्दा हुन्। उनी लामो समयदेखि फरार रहँदै आएका थिए। प्रहरीले उनलाई विशेष सूचनाको आधारमा ललितपुरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार शर्मामाथि नक्कली भुटानी शरणार्थी बनाएर विदेशी मुलुक पठाउने योजनामा संलग्न भएको आरोप छ। यस प्रकरणमा हालसम्म थुप्रै व्यक्ति पक्राउ परिसकेका छन् भने केहीमाथि अनुसन्धान जारी छ।

शर्मालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आजै सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।