अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ। शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए। “लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ। तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन।”
उनले भने, “महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ।” प्रमुख सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए। “सिर्सिया नदीआसपासमा रहेका वस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ”, उनले भने, “महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति हुन भने पाएको छैन।” प्रमुख सिंहले वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको जानकारी दिए।
“वर्षाको पानीले हुनसक्ने डुबानलाई लक्षित गरेर टोल–टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्नको लागि निर्देशन दिएर अहिले ती ठाउँहरु खुला रुपमा राखिएका छन्”, उनले भने, “सबैसँग समन्वय गरेर उद्धारमा लागिरहेका छन्।” प्रमुख सिंहले केही समय अघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठूलो प्रकृतिको क्षति हुन नपाएको दाबी गरे। “विगतमा भेडाहा खोलाको कारणले वडा नम्बर ३१ र अन्य वडामा ठूलो क्षति भएको थियो”, उनले भने, “अहिलेसम्म भेडाहाखोलाको बाँधले थेगिरहेको छ। अब कति समयसम्म थेग्छ भन्ने हो।”