अविरल वर्षासँगै गएको पहिरोका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्ड अवरुद्ध बनेको छ। प्रहरीका अनुसार, गए राति उक्त सडक खण्डको मुलघाट र नमस्ते झरना नजिक सडकमा पहिरो र लेदो माटो थुप्रिएर यातायात रोकिएको हो।
कोशी राजमार्गका साथै मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रिबास–लेगुवा खण्डमा पनि पहिरोले सडकमा क्षति पुगेका कारण सडक अवरुद्ध भएको छ।
अहिले पहिरो गएको स्थानहरूमा सडक डिभिजनको जेसिबीले पहिरो पन्छाउने कार्य गरिरहेको जनाइएको छ।
प्रशासनले ती सडक खण्डहरूमा कुनै प्रकारका सवारी साधन सञ्चालन नगर्न सूचना जारी गरेको छ। धरानबाट धनकुटातर्फ गएका केही सवारी साधनलाई भेडेटार प्रहरीले धरानतर्फ नै फर्काइदिएको छ।
यात्रुहरूलाई सडक खुल्ने निश्चित नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न र आ-आफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरिएको छ।