एमाले महाधिवेशन मंसिरमा गर्ने तयारी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टी महाधिवेशन गराउने तयारी थालेका छन् ।

जेनजी आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले पार्टी सचिवालय बैठक गरिसकेका छन् । सचिवालय बैठकले असोज २७–२९ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने तयारी गरेको एमाले उच्च स्रोतले जनाएको छ । गोदावरीमा भदौ २०–२२ गतेसम्म विधान महाधिवेशन गरेको एमालेले त्यतिबेला ओलीलाई नै पुन: अध्यक्ष बनाउने गरी विधान संशोधन गरेको थियो । तर लगत्तै भएको जेनजी आन्दोलनले उनलाई बालुवाटारबाट हेलिकोप्टरमा भाग्न बाध्य पारेको थियो ।

ओली सत्तासिन रहेकै बेला भएको जेनजी आन्दोलनले नेतृत्व परिवर्तनको भावना व्यक्त गरेको र ओली नै अध्यक्ष रहिरहे पार्टीलाई क्षति पुग्ने चिन्ताबीच ओली अध्यक्षबाट पछि नहट्ने तयारीमा लागेका छन् । आफूविरुद्धको भावनालाई बढ्न नदिन उनले यथाशीघ्र महाधिवेशन गरेर अध्यक्ष भइहाल्ने तयारी थालेको स्रोतको दाबी छ ।

पार्टी पदाधिकारीहरूमध्ये उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल मात्रै ओली पक्षमा रहेका छन् भने अन्य सबै पदाधिकारी ओलीले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् । सचिवालय बैठकमा अल्पमतमा परेका ओलीले कुनै विशेष निर्णय नगरी सोझै केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गराएका ओली पछिल्लो समय पार्टीभित्रै आलोचित बनेका छन् । तैपनि उनी यथाशीघ्र महाधिवेशन गराएर पुन: अध्यक्ष बन्ने तयारीमा लागेका छन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने तयारी गरिरहेको छ ।