शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएका छन् ।
चितवनको तुइन खोला र धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा दुवै सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ६ बजेदेखि चितवन, धादिङ र तनहुँ हुँदै जाने प्रमुख सडक अवरुद्ध भएका छन् ।
लगातार वर्षा जारी रहेकाले ढुंगा–माटो झर्ने क्रम अझै रोकिएको छैन र पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा यात्रा गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। यसअघि पनि पटक–पटक पहिरो खस्दा नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड लामो समयसम्म बन्द हुने समस्या देखिँदै आएको छ । प्रहरीले वर्षा अझै जारी रहेकाले अनावश्यक यात्रा नगर्न र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।