पहिरोबाट रोकिएका यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ ।

नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरूलाई  बस सेवा सुरु गरिएको हो । 

प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । 

‘पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ,’ उनले भने ।

पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए । 

पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरू ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ । 

पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । 

गत शुक्रबार खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।