रहिनन् एक खुट्टाले नाचेर चर्चा कमाएकी नृत्यंगना सीता सुवेदी

चर्चित नृत्यांगना सीता सुवेदीको आज बिहान निधन भएको छ। एक खुट्टाले नाँचेर छुट्टै पहिचान बनाउन सफल उनको आज बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

परिवारका अनुसार सीता ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित थिइन्। १ महिनादेखि भेन्टिलेटरमा रहेकी उनको उपचारका क्रममा साढे ६ बजे निधन भएको हो। 

चितवन घर भएकी सीतालाई सानैदेखि नाचेर आफूलाई स्थापित गर्ने सपना थियो। तर, १२ वर्षको उमेरमै क्यान्सर लागेपछि एउटा खुट्टा काट्नु परेको थियो। 

एसएलसीपछि सीताले एक खुट्टाकै भरमा नृत्यको बाटो रोजिन्। सीताले पहिलो पटक पदमकन्या क्याम्पसको मञ्चमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनको यो यात्रा देशका विभिन्न मेला, महोत्सव हुँदै विदेशका मञ्चसम्म पुर्‍यायो। 

सन् २०१९ को अन्तर्राष्ट्रिय अपांगता दिवसका दिन दक्षिण कोरियामा नृत्य गरिन्। सन् २०२० को जनवरी ११ मा सियोलमा भएको भिजिट नेपालको कार्यक्रममा स्वागत नृत्य गर्ने अवसर पाइन्। 

थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा नृत्य गरिसकेकी सीताले सौन्दर्य प्रतियोगितामा समेत उपाधि जितेकी थिइन्। मिसेस नेपाल वर्ल्डको प्रतियोगितामा म्यानेजमेन्ट च्वाइस अवार्ड’ सहित उनले ‘मिसेस नेपाल इन्टरनेसनल २०२३’ को उपाधि समेत जितेकी थिइन्।