सशस्त्र लडाकु समूह हमासले गाजामा बन्धक बनाइएका ४८ जनाको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । इजरायली सेनाले कारबाही जारी जारी राखेका बेला हमासले उनीहरूका तस्बिर सार्वजनिक गरेको हो । यसमा नेपालका विपीन जोशीको पनि तस्बिर छ ।
कस्साम ब्रिगेडले शनिबार अनलाइनमा एक तस्बिरको संकलन पोस्ट गरेको छ । त्यसमा जीवित र मृत सबै बन्धकको अनुहार देखाइएको छ । र, प्रत्येकको शीर्षकमा ‘रोन अराद’ लेखिएको छ ।
यो सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेनका सन्दर्भमा हो । अरादको एफ–४ फ्यान्टम विमानले दक्षिणी लेबनानमा आक्रमण गर्ने क्रममा समयअगावै बम विस्फोट भएको थियो ।
उनलाई अमल मुभमेन्टले कब्जामा लिएको थियो र पछि हिजबुल्लाहलाई सुम्पिएको थियो । अरादको मृत्यु भएको विश्वास गरिन्छ, तर कुनै निर्णायक प्रमाण उपलब्ध छैन ।
हमासद्वारा सार्वजनिक गरिएको तस्बिरसँगै एक सन्देश पनि छ । त्यहाँ लेखिएको छ, “नेतान्याहूको अस्वीकार र जमीरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदा यो अन्तिम तस्बिर ।”
गाजामा अझै करिब २० बन्धक जीवित रहेका इजरायली अधिकारीको विश्वास छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन् । ट्रम्प र नेतान्याहू दुवैले जीवित र मृत सबै बन्धक फिर्ता ल्याउने र हमासलाई ‘नष्ट’ गर्ने बताउँदै आएका छन् ।