कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । दसैँ तथा तिहारलाई लक्षित गर्दै गत भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशिक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिए।
सहुलियतमा बिक्रीवितरण हुने चामल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर रु सात छुट दिइएको छ । हाल १८ स्थानबाट सोमबारदेखि नै सहुलियत रुपमा खाद्यान्न बिक्रीवितरणको काम सुरु गरिएको छ । सोमबार डोल्पामा सदरमुकाम दुनै, जुफाल मुड्केचुलाको सर्मी, कालीकोट सदरमुकाम मान्मा, पादमघाट, खल्लागाड, जाजरकोटको सदरमुकाम, नायकवाडा, घोगीमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।