कास्की कारागारबाट भागेका ३० कैदी तनहुँमा पक्राउ

 जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका ३० जना कैदीबन्दीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । 

आन्दोलनकैबेला मौका छोप्दै कैदीहरू कारागारबाट फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार विभिन्न नाकाबन्दी र चेकजाँच अभियानमार्फत ती कैदीहरूलाई पक्राउ गरिएको हो । 

“सुरक्षाको चुनौतीबीच पनि हाम्रो टोलीले रातदिन खटेर कैदीहरूलाई नियन्त्रणमा लिन सफल भएको छ,” थापाले भन्नुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये केही कैदी स्थानीय क्षेत्रमै लुकिरहेका थिए भने केही फरार भएर अन्य जिल्लातर्फ भाग्ने क्रममा तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो ।

तनहुँ प्रहरीको समन्वयमा सशस्त्र प्रहरी, स्थानीय प्रहरी चौकी र सूचनादाताको सहयोगमा लगातार गरिएको अपरेसन सफल भएको जनाइएको छ । “सार्वजनिक सुरक्षालाई खतरामा पार्ने, कानूनको शासनलाई चुनौती दिने गतिविधि कतै सह्य हुँदैन,” प्रनाउ थापाले चेतावनी दिनुभयो । 

पक्राउ परेका कैदीलाई कानुनी प्रक्रियामार्फत पुनः कारागारमा पठाइने प्रहरीले जनाएको छ । अझै केही कैदी फरार अवस्थामा रहेको प्रारम्भिक अनुमान भए पनि अहिले सम्म ठूलो संख्यामा नियन्त्रणमा लिनु सुरक्षाका लागि महत्वपूर्ण सफलता भएको प्रहरीको भनाइ छ । 

जेनजी आन्दोलनको कारण विभिन्न जिल्लामा देखिएको अव्यवस्था र हिंसात्मक गतिविधिका कारण सुरक्षाकर्मी थप सतर्क रहन बाध्य भएका छन् । कैदी पक्राउ अभियानलाई निरन्तरता दिइने र फरार व्यक्तिलाई कुनै हालतमा उम्कन नदिने प्रहरीको दाबी छ ।