कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ ।
कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप विवरण आउन बाँकी रहेको र बुझ्ने काम भइरहेको जनाएको छ ।विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरूको उपचार भइरहेको छ । ‘धेरै जना जना उपचारका क्रममा छन् । केही शवहरू अस्पतालमा छन् भन्ने जानकारी प्राप्त भएको छ , ज्यान गुमाउने अधिकांश ८ भारतीय तथा केही नेपाली रहेको जानकारी प्राप्त भएको छ,’ कुवेतस्थित दूतावासका श्रम सहचारी आचार्यले भने ।
ज्यान गुमाउनेमा २ जना आदान अस्पतालमा र ४ जना सालबिया क्षेत्रमा कम्पनीकै मजदुर शिविरमा छन् । मृत्यु हुने ६ जना नेपालीमध्ये ५ पुरुष सहित एक जना महिला रहेकी छन् । कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी उत्पादन गरी अवैधानिक रूपमा बेचबिखन हुँदै आएको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । विषालु रसायनको रूपमा चिनिने मेथालोन उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने र सोही पदार्थ मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् ।
सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भए पनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन । मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टिमा समस्या हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।





