कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ-बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ-कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ।

करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम चल्ने सबै सवारीसधान चल्न सकेका छैनन् भने सोही बाटो हुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारी साधन बाटोमा रोकिएका प्रहरीले जनाएको छ। भैरहवाबाट सामान बोकेर आएका मालबहाक ट्रक पनि कालाखोलामा रोकिएका छन्।

निरन्तर पहिरो झरिरहेकाले सडक खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम विकले जानकारी दिए।