प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको जानकारी दिएका हुन् । कृषि मन्त्रालयको विवरण अनुसार, यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ ।
ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । ‘खेतबारी हराभरा बनाऔं’ भन्दै उनले कृषकहरूलाई खेतीपातीमा आवश्यक मल समयमै प्रयोग गर्न आग्रह गरेका छन् ।





