बिहीबारदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र मार्ग अवरोध हुँदा मुक्तिनाथ तथा दामोदरकुण्ड दर्शनका लागि जाने यात्रुहरुलाई समस्या भएको छ ।
बेनी जोमसोम सडक खण्डको रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट झरेको पहिरोले गर्दा ५० मिटर जति सडक अवरोध भएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिका –३ को सुकेबगरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।
सडक खुलाउने प्रयास गरिएको भए पनि लगातारको वर्षाले गर्दा असहज भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।




