काठमाडौँ — निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको उपनिर्वाचन गर्ने घोषणा गरेको छ। उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि त्यो सिट रिक्त भएको थियो।
नेपालको संविधानको धारा ८९ को खण्ड (च) अनुसार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको विषयमा संघीय संसद् सचिवालयले गत चैत ३१ गते आयोगलाई औपचारिक जानकारी गराएको थियो।
कानुनी प्रावधानअनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्त हुन अझै छ महिनाभन्दा बढी समय बाँकी रहँदा कुनै स्थान रिक्त भएमा त्यसलाई सोही निर्वाचन प्रणालीबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ।
सोही अनुसार आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचन मिति घोषणा गरेको हो। निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन संघीय तथा प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सबै सरोकारवालाहरूसँग सहयोग गर्न आग्रह गरेकी छिन्।
यस्तै आयोगले निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता कार्य मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरेको जनाएको छ। निर्वाचनको मिति घोषणा भएपछि कानुनबमोजिम मतदाता नामावली सङ्कलन कार्य स्थगन गरिनुपर्ने भएकाले हालका लागि नाम दर्ता रोकिएको प्रवक्ता अर्यालले स्पष्ट पारिन्।
यसरी आयोगले मिति तोकेपछि अब त्यसअनुसारका निर्वाचन कार्यक्रम र तयारीहरू अघि बढाइनेछ।





