२१ वैशाख, काठमाडौं — शिक्षकहरूको लामो समयदेखि उठाइरहेका मागहरूको सम्बोधन गर्न सरकारले निर्णयहरू सार्वजनिक गरेको छ। १७ वैशाखको मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरूलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार सार्वजनिक गरेका हुन्।
शिक्षकहरूको शैक्षिक हड्ताल र काठमाडौँ केन्द्रित आन्दोलनका कारण २५ चैतदेखि सुरु भएको प्रदर्शनपछि १६ वैशाखमा सरकारसँग सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो।
शिक्षकका माग सम्बोधनका लागि मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
- शिक्षकहरूको स्वास्थ्य उपचार: काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराइनेछ।
- बिरामी बिदा र एकमुष्ट रकम: अस्थायी, करार, उच्च मावि, सिकाइ अनुदान, प्राविधिक धारका विशेष शिक्षक र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुनेछ र त्यसको रकम सेवाबाट अलग हुँदाको बखत एकमुष्ट रूपमा प्रदान गरिने निर्णय गरिएको छ।
- पारिश्रमिकको व्यवस्था: प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीको पारिश्रमिक सम्बन्धी नेपाल सरकारबाट तोकेका व्यवस्थाहरू लागू गरिनेछ।
- ग्रेड र रकमको निर्धारण: आगामी २०८२/८३ आर्थिक वर्षदेखि स्थायी शिक्षकमध्ये प्राथमिक द्वितीय, निमावि तृतीय र मावि प्रथम श्रेणीका शिक्षकहरूको निजामती सरह ग्रेड संख्या र रकम कायम गरिनेछ।
- दुर्गम भत्ता: स्थायी तथा अस्थायी शिक्षकहरूको दुर्गम भत्ता प्राप्तिको कानुनी प्रबन्ध गरिनेछ।
- सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीको सामाजिक सुरक्षा: सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नियमावलीमा व्यवस्था गरिनेछ।
- घाइते शिक्षक, पत्रकार र सुरक्षाकर्मीको निःशुल्क उपचार: नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका शिक्षक, पत्रकार र सुरक्षाकर्मीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गरिनेछ।
- निम्न मावि शिक्षकहरूको तलब: निम्न मावि तहका प्रथम श्रेणीका शिक्षकहरूको तलब र ग्रेडलाई मावि द्वितीय श्रेणीका शिक्षकहरूको सरह कायम गरिनेछ।





